मनपरी भाडा असुल्ने ७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा
गुल्मी । गुल्मीमा मनपरी भाडा असुल्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार सदरमुकाम तम्घास देखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनहरुको अनुगमन गर्दा मन परी भाडा असुलेको पाइपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोगलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा यात्रु राख्ने तथा प्रत्येक यात्रुहरुले माक्सको प्रयोग गर्ने सुचित गरिएको थियो ।
तर ग्रामीण भेगकामा जाने सवारीले मनपरी भाडा लिने र दोब्बर यात्रु सवार गराई रहेको गुनाँसो नागरिकले गरेपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुगमन गरेको थियो ।
स्थानीयको गुनाँसो पछि गरिएको अनुगमनमा ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी केदारराज पन्तले जानाकारी दिनुभयो । अनुगमनका क्रममा मनपरी भाडा लिने तथा दोब्बर यात्रु बोक्ने २ बस र ५ जीपलाई नियन्त्रण लिइएको पन्तले जानकारी दिनुभयो ।
दैनिक रुपमा ट्राफिक कार्यालय गुल्मीले सवारी चेकजाँच गरेता पनि सवारी चालकहरुले यसको वेवास्ता गर्दै आएका ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले बताउनुभयो । सवारी साधनले बारम्बार गल्ती दोहोराएको पाइमा यातयात व्यवस्था विभाग मार्फत कारवाही प्रक्रियालाई अगाडि बढाउने उहाँले बताउनुभयो ।
सदरमुकाम तम्घास देखि जिल्लाका ग्रामीण भेग सिमलटारी, मर्भुङ्ग मैदान, घमिर, छापहिले, नेटा, दर्लिङ्ग, इस्मा ,धुर्कोट, ह्वाङदी, लगायतका स्थानमा गुड्ने सवारीसाधनले मनपरी भाडा उठाउँदै आएका थिए । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीलाई एक दिन राखेर मात्र छोडिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।