काठमाडौं उपत्यकामा एकै दिन थपिए २६७२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभरमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।
हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्।
आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।