एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि संक्रमितको संख्या एक लाख पाँच हजार कट्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेका छन् । शनिबार एकै दिन ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन पुष्टि भएको हालसम्मकै धेरै हो ।
शनिबार ५ हजार ८ जनामा सङ्क्रमणको पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
त्यस्तै शनिबार १ हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ३० हजार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उनीहरु मध्ये १७ हजार १६४ जना होमआइसोलेसन र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । भाइरसका सक्रिय संक्रमित मध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण पनि बढाउँदै लगेको छ । शनिबार १९ हजार ३२० जनाको परीक्षण गरिएको छ । हालसम्म नेपालमा ११ लाख ६४ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।