भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित
देउवा–पौडेल पक्ष एकअर्कालाई गलाउने रणनीतिमा
काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँगै २५ गतेका लागि सारिएको थियो ।
भोलिका लागि तय भएको वैठक पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएको हो ।
‘२६ गते बैठक बस्न सकिन्थ्यो । तर बैठकको नयाँ मिति तोकिएको छैन ।’ एक नेताले भने । सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएकाले वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।
त्यसैले दशैं अगाडि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम हुँदै गएको एक सदस्यले बताए ।
आगामी फागुनमा ७–११ का लागि तय भएको महाधिवेशन बारे छलफल गर्न बोलाइएको वैठक नै बस्न नसकेपछि महाधिवेशन सर्ने त निश्चित प्रायः छ । तर नयाँ मिति तोक्ने कार्य समेत अन्यौलमा पुगेको छ ।
महाधिबेशनको बिषयलाई लिएर काँग्रेसको संस्थापन पक्ष र इतरपक्ष बीच लामो समयदेखि समझदारी हुन सकिरहेको छैन । संस्थापन पक्षले इतर पक्षसँग कुनै परामर्श नगरी एकलौटी ढंगले बिभागहरु गठन गरेपछि पार्टी भित्रको बिवाद उत्कर्षमा पुगेपछि सतहमा आएको छ । महाधिबेशन सम्पन्न भएको छ महिनाभित्रमा गरिसक्नुपर्ने बिभागहरुको गठन १४ औं महाधिवेशनको मिति घोषणापश्चात धमाधम गर्ने काम सभापति देउवाबाट भएपछि वरिष्ठ नेता रामचन्द्र पोडेल समुहले असन्तुष्टि जनाउँदै आएको छ । निर्णय सच्याउन पौडेल समूहले एक हप्ते अल्टिमेटम दिएको पनि दुई हप्ता भइसक्यो । न त देउवाले निर्णय सच्याए न त पौडेल पक्षले नै कडा कदम चाल्न सक्यो । उनीहरु एकआपसमा द्धन्द्ध गरिरहेका छन ।
बिभिन्न बहाना गर्दै सभापति देउवा समुहले पौडेल समुहलाई थकाउने रणनीति अख्तियार गर्दै आएको देखिन्छ । महाधिवेशनलाई प्रभावित पार्नकै लागि सभापति देउवाले आफु निकटका नेता तथा कार्यकर्तालाई बिभाग गठन गर्दै व्यवस्थापन गरेर १४ औं महाधिवेशनमार्फत फेरि नेतृत्व हात पार्न तम्सिरहेका छन् । यो कुरालाई राम्ररी बुझेर नै इतर पक्ष सभापतिको यस्तो हर्कत र व्यवहारबाट तर्सिएको छ । अहिले पौडेल समुह पार्टी बिधान र पद्धतिको बिषयलाई उठान गरेर देउवालाई गलाउने रणनीतिमा लागेको बताइन्छ ।