नायिका ऋचालाई छोरी जन्मिएला भन्ने डर
काठमाडौं । देशभर बलात्कारको घटना दिनप्रतिदिन बढ्दै गएका छन् । प्रहरीको तथ्यांकले दैनिक छ÷सात जनाको बलात्कार हुने गरेको छ । बालिका बलात्कृत हुने घटना बढेपछि नायिका ऋचा शर्माले चिन्ता व्यक्त गरेकी छिन् ।
नायिका ऋचाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै आफूलाई छोरी जन्मिएला भन्ने डर लाग्न थालेको उल्लेख गरेर सरकारलाई व्यंग्यवाण प्रहार गरेकी छिन् ।
उनले लेखेकी छिन्–‘एउटा नायिका बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अवोध बालिकाहरुको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलीको दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला भन्ने डर लाग्न थालेको छ ।’
नायिका ऋचाले आफूले जति संकार र अनुशासन सिकाउन खोजे पनि यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितीमा सन्तान हुर्किन्छन् कि भन्ने पिर आफूलाई पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
ऋचाले पत्रमा लेखेकी छिन् –‘दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेयाम हिडेको या ढाकछोप सामान्य जरिवाना र गन्म मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएकोमा हिजोआज आफैलाई लाज लाग्न थालेको छ । हामी प्रविधिमा अगाडि भएपनि सोचले अझै पिछडिएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी–नातीनीको आँखामा आँखा जुधाई भनी हेर्नुहोस् कि यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैतला डगमगाउँदैछन् ।’
नारीलाई पुज्ने देश र राष्ट्रपति स्वयंम महिला भएको देशमा बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई कडा कारवाही नहुनु र कानुन कार्यान्वयन गर्ने निकायहरुले सामान्य लिएको देख्दा अझै आफूहरु सीताले अग्नी परिक्षा दिएको यूगमा नै रहेको महशुश हुन थालेको बताएकी छिन् ।
यसअघि उनले गृृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । गृहमन्त्री थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था सामान्य रहेको अभिव्यक्ति दिएका थिए ।
गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर अभिनेत्री शर्माले सामाजिक संजालमार्फत आक्रोश पोखेकी थिइन् । उनले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको उल्लेख गरेकी थिइन् ।