दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया
गुल्मी । गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । दलित महिला संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा गुल्मी जिल्लामा अहिलेको दलित आन्दोलनको अवस्था, दलित जनप्रतिनिधिहरुको काम, कर्तव्य र भुमिका, दलित महिलाहरुको अवस्था लगायतका बिषयमा बृहत्तर छलफल गरिएको थियो ।
त्यस अवसरमा जिल्ला समन्वय समिति उप–प्रमुख तुल्सी श्रेष्ठले दलित आन्दोलनलाई अझ सशक्त बनाएर लैजान आग्रह गर्नुभयो । प्रमुख अतिथि श्रेष्ठले अझै पनि समाजमा जातीय विभेदको अवशेष बाँकी रहेकाले यसको व्यवहारिक रुपमा अन्त्यका लागि दलित जनप्रतिनिधिहरुलाई सशक्त रुपमा लाग्न सुझाव दिनुभयो । दलित महिला जनप्रतिधिहरुलाई अझै प्रशिक्षित गर्न आवश्यक रहेकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
दलित अधिकारकर्मी गणेश विश्वकर्माले कानुनी रुपमा जातीय विभेद अन्त्य भएपनि व्यवहारिक रुपमा अन्त्य हुन अझै बाँकी रहेकाले यसविरुद्ध लाग्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय दलित आन्दोलन कमजोर हुँदै गएकाले गम्भीर भएर लाग्न आव्हान गर्नुभयो ।
छलफल तथा अन्तरक्रियामा दलित महिला संघ गुल्मी अध्यक्ष बरालले जातीय तथा लैङ्गिक विभेदका कारण समग्र विकासमा अवरोध पुगीरहेको बताउनुभयो । सचेतनाका कार्यक्रमलाई स्थानीय सरकारले बिशेष प्राथमिकतामा राखेर सञ्चालन गनुपर्नेमा बरालले जोड दिनुभयो ।
अन्तरक्रियामा जिल्लाका विभिन्न स्थानीयतहमा निर्वाचित दलित जनप्रतिनिधहरुको सहभागीता रहेको थियो । उनीहरुले स्थानीयस्तरमा पछिल्लो समय दलितहरुका सन्र्दभमा गरेका कार्यहरुको जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने योजनाहरुका बिषयमा जानकारी गराएका थिए ।
पछिल्लो समय दलित समुदायका पेशा–व्यवसाय खोसिदैँ गएकोले यसलाई रोक्न ठोस प्रकारका निति तथा कार्यक्रमहरु बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताएका थिए । दलित महिला संघ गुल्मी अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख तुल्सी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
दलित साझा मञ्च गुल्मीका अध्यक्ष एवम मानवअधिकारकर्मी गणेश विश्वकर्मा, जिल्ला समन्वय समिति सदस्य उमा चुँदारा, दलित मुक्ति संगठनका जिल्ला सह–संयोजक धर्म विश्वकर्मा, गुल्मीदरबार गाउँपालिका कार्यपालिका सदस्य इश्वरी परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन बिष्णु विश्वकर्माले गर्नुभएको थियो ।
सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुस्त हुने अनुमान प्रक्षेपण गरेको छ । कोरोना महामारीले नेपालको अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा अत्यन्त खराब पारेकोले सन् २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने जनाएको हो ।
विश्व बैंकले पछिल्लो दक्षिण एसियाली अर्थतन्त्रबारे रिपोर्ट बिटन अर ब्रोकन’ सार्वजनिक गरेको हो । रिपोर्टअनुसार यो वर्ष दक्षिण एसियाली अर्थतन्त्र हालसम्मै खराब अवस्थामा जाने देखिएको छ । खासगरी अनौपचारिक अर्थतन्त्रलाई कोरोनाले प्रभाव पारेको छ । यो वर्ष ७.७ प्रतिशतले यस क्षेत्रको अर्थतन्त्रमा संकुचन आउने अनुमान गरिएको छ । तर सन् २०२१ मा भने ४.५ प्रतिशतले आर्थिक वृद्धिदर देखिने अनुमान प्रक्षेपण गरिएको छ ।
यद्यपि प्रतिव्यक्ति आय भने सन् २०१९ को अनुमानभन्दा तल ६ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघिका आर्थिक मन्दीमा लगानी र निर्यातलाई असर गर्ने गरेकामा यस पटक प्राइभेट कन्जम्पसन निजी क्षेत्रको उपभोगलाई असर गरेको छ । यो क्षेत्र परम्परागत रुपमा मागको मेरुदण्ड नै मानिन्थ्यो । प्राइभेट कन्जम्पसन १० प्रतिशतभन्दा बढीले घट्ने अनुमान गरेको रिपोर्टले दक्षिण एसियामा गरिबी दर पनि बढाउने देखाएको छ । त्यस्तै रेमिट्यान्स घट्ने अनुमान पनि गरिएको छ ।
विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हादाद जर्भोसले नेपालका अनौपचारिक श्रमिकलाई महामारीले प्रभाव पार्दा गरिबी बढाउने बताए । यसका लागि आम्दानी, सामाजिक सुरक्षा र रोजगारी दिएर उनीहरुलाई सहयोग गर्नुपर्ने उनले बताए । त्यस्तै लगानीको वातावरणको पुनर्संरचना गरी भौतिक पूर्वाधारलाई ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रमा लगानी पहुँच बढाउनुपर्ने उनको भनाइ छ ।
नेपालमा अनौपचारिक व्यवसायले ५० प्रतिशत उद्यम सिर्जना गरेको र यो नै श्रमिकहरुको मुख्य आम्दानीको स्रोत रहेको रिपोर्टमा उल्लेख गरिएको छ । यो समूहमध्ये सहरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार घरपरिवार महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । लकडाउनका कारण यो क्षेत्र प्रभावित भएकोले उनीहरु संक्रमित हुने डरले व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको उल्लेख गरिएको छ ।
त्यस्तै रिपोर्टले सरकारहरुलाई युनिभर्सल सोसल प्रोटेक्सन र नीतिगत सहयोग गरी उत्पादकत्व, सीप विकास र मानव पुँजीमा जोड दिन सुझाव दिएको छ ।
विश्वकै बैंकका दक्षिण एसियाका लागि प्रमुख अर्थशास्त्री हान्स टिमरले कोभिड १९ ले नेपाललाई र समग्र दक्षिण एसियालाई रुपान्तरण गर्ने बताए । यसले आगामी वर्षमा धेरै प्रभाव छोडे पनि अर्थतन्त्रले सकारात्मक लय समात्ने उनको विश्वास छ ।