गुल्मीका ग्राफिक्स डिजाइनर विश्वकर्मा गुल्मीदरबार गाउँपालिकाद्वारा सम्मानित
गुल्मीका ग्राफिक्स डिजाइनर इश्वर विश्वकर्मा जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वारा सम्मानित हुनुभएको छ । गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गर्नुभएका विश्वकर्मालाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । जिल्लाको रेसुंगा नगरपालिका–८ का बिश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत पाण्डेले संयुक्त रुपमा योगदानको उच्च कदर गर्दै नगद र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।
गाउँपालिकाले गरेको सम्मानले आफुलाई हौसला प्रदान गरेको भन्दै विश्वकर्माले गाउँपालिकालाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । गुल्मीदरबार गाउँपालिकाले केहि समय अघि पहिचान सहितको लोगो सार्वजनिक गरेको थियो । लोगोको डिजाइनर इश्वर विश्वकर्मा हुनुहुन्थ्यो । यस गाउँपालिका जिल्लामा रहेका गाउँपालिकामध्ये आफ्नो लोगो सार्वजनिक गर्ने पहिलो गाउँपालिका हो ।
गाउँपालिकाले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषिक्षेत्रलाई समेटेर सार्वजनिक गरिएको लोगोमा रहेका–७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ ।
रेसुङ्गाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ । चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समावेश गरेको छ ।
लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख, समृद्धि, सौभाग्यको संकेत गरेको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताउनुभयो । झाँकीहरुको संकेतले पालिकाभित्र रहेको कला, संस्कृति र विभिन्न जातजातिको संकेत गरेको छ ।गाउँपालिकाको नक्सालाई महिला पुरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ र सहयोग रहेको संकेत गरिएको छ ।
लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र जनताले परिश्रमको संकेतसँगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको पाण्डेले बताउनुभयो ।
लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व, रातो रङले आर्थिक क्रान्ति र समृद्धि, सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिकाभित्र स्वच्छ खानेपानीको व्यवस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका आफैं स्वायत्त भएकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको पाण्डेले जानकारी दिनुभयो ।