मन्त्रिपरिषदका सदस्यहरुको दशैँ खर्च कोभिड नियन्त्रण कोषमा
'सरकारले कोरोनाको उपचारमा हात झिकेको भनाई गलत'
काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सदस्यहरुले पाउने दशैँ खर्चको रकम कोभिड नियन्त्रण कोषमा जम्मा गर्ने भएको छ।
असोज २६ र २९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।
यस्तै, प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको पनि दशैँ खर्च मन्त्रिपरिषदले निर्णय गरे जस्तै कोरोना कोषमा जम्मा गर्ने प्रवक्ता गुरुङले बताएका छन् ।
मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारमा हात झिकेको भन्ने भनाई गलत रहेको वताउँदै जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने भनेको स्पष्ट पारेका छन् ।