पहिरो प्रभावित परिवारलाई राहत वितरण

गुल्मी । गुल्मीका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका गरि ७५ घरपरिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको हो । पहिरो पीडित मुसिकोट नगरपालिका–२ का २९ परिवार तथा इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीका ४६ परिवारलाई राहत रकम प्रदान गरिएको थियो ।

बाढी पहिरो पीडित प्रति परिवारलाई ५ हजारका दरले रु ३ लाख ७५ हजार रुपैँया बराबरको राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको हो । गएको असार अठार गते रातिको अविरल वर्षासँगै धनजनको क्षेति हुने गरि गएको पहिरोका कारण विस्थापित पहिरो पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखा सभापति राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको मनसुन प्रतिकार्य कार्यक्रम अन्र्तगत आर्थिक सहयोग प्रदान गरिएको सभापति श्रेष्ठको भनाई रहेको छ । राहत रकम हस्तान्तरण गर्दै सभापति श्रेष्ठले यसबाट पहिरो पीडितहरुलाई थोरै भएपनि राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापति श्रेष्ठले राहत रकमको सहि सदुयोग गर्न आग्रह गर्दै रेडक्रसले विभिन्न विपत्तिको समयमा त्रिपाल, लगायतका राहत सामग्री समेत उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपशाखाहरु मार्फत बाढी–पहिरो, आगालागी जस्ता विपत्तिमा सहयोग, राहत र उद्धारमा केन्द्रित रहेको श्रेष्ठले बताउनुभयो ।

बिहिबार जिल्लाको इस्मा गाउँपालिका–१ का पहिरो पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी हस्तीचौर उपशाखाको भवनमा एक औपचारिक कार्यक्रम गरि पीडितहरुलाई राहत रुकम हस्तान्तरण गरिएको हो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा हस्तीचौर उपशाखा सभापति शेर बहादुर कुँवरको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखा सभापति राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा इस्मा गाउँपालिका–१ का वडा अध्यक्ष चुरा बहादुर खत्रीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नारायण कँुवरले गर्नुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका कार्यालय सहायक प्रकाश भट्टराईले जानकारी दिनुभयो । बुधबार मुसिकोट नगरपालिका–२ का पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरिएको थियो ।