नेतृत्व नै गलत भएका कारण कांग्रेसको यो हविगत भएको हो: चन्द्र भण्डारी
काठमाडौं- केन्द्रीय समितिको वैठकमा कुरा उठाएका छौं, युवा नेताहरुको छुट्टै वैठक बसेर नेतृत्वलाई ध्यानाकर्षण गरिरहेका छौंं कि नेपाल विद्यार्थी संगठनको महाधिवेशन समयमै गर्नुपर्यो । तर, सुनेको होइन ।
अहिले पार्टी नेतृत्व नै गलत भएका कारण कांग्रेसको यो हविगत भएको हो भन्ने मलाई लाग्छ । कांग्रेस भित्रको यही किचलोका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमतसहित सरकारमा पुगेको हो ।
हाम्रो नेतृत्वले संस्थागत रुपमा पार्टीलाई चलाउन सकेको भए चुनावमा त्यस्तो परिणाम भोग्नु पर्दैनथ्यो । हामीले के गरेका छैनौं ? सरकार चलायौं, पार्टी चलायौं तर सही ढंगले चलाउन सकेनौं । त्यही कारण संसारबाट हराएका साम्यवादीहरु नेपालमा चुनावबाट सत्तामा पुगेका हुन् । यसको कारण हो, हाम्रो नेतृत्व गलत थियो । हाम्रो नेतृत्व समयअनुसार चल्न सक्दैनथ्यो । विपी, गणेशमान, सुर्वणशम्शेरहरुको पार्टीमा अहिलेको नेतृत्व के भएको ?
नेताहरु गुट लिएर अगाडि बढ्न हुँदैनथ्यो । संस्थागत रुपमा पार्टीलाई चलाउन सक्नुपथ्र्यो, जुन हुन सकिरहेको छैन । मैले त पटक-पटक भन्ने गरेको छु, रामचन्द्र पौडेललाई समेत सहमतिमा लिएर सभापति शेरबहादुर देउवा अगाडि बढ्न सक्नुपर्छ । तर, त्यस्तो देखिरहेका छैनौं । नेतृत्वले सही र गलत जे भए पनि त्यसको जस र जिम्मेवारी लिनुपर्छ । त्यो समेत हाम्रो नेतृत्वमा छैन ।
सभापतिलाई कयौं पटक भनेँ चुनावी हारको जिम्मेवारी लिनुस् तर, मान्नुभएको छैन । कतै गलत विरुवा त रोपिएन भन्ने शंका लागेको छ । चाहे त्यो नेविसंघमा होस वा केन्द्रमा । देशभरमा विद्यार्थी संगठनहरुमा तीन अध्यक्षका दाबेदार छन् भन्ने खालका हल्ला सुन्छु । यस्तो पनि हुन्छ ? कसका कारण भयो ? केन्द्रको रोग सरेको होइन र ? यही कारण केपी ओली सत्तामा पुगेका हुन् भन्ने नेविसंघका विद्यार्थीहरुले बुझ्नुपर्छ ।
पार्टी नेतृत्वले गरेका गलत कामहरुको सिको गर्ने र नेताहरुको पछि लागेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्छु भने जस्तो गर्नुहुन्न । नयाँ ढंगले आउनुपर्छ । हाम्रो गलत स्कुलिङ छ, त्यसको पछि लाग्नु हुँदैन । सत्य कुरा तीतो हुन्छ । तर, कांग्रेस अहिलेकै पाराले अघि बढ्यो भने अझै कमजोर हुन्छ । त्यसकारण विद्यार्थीहरुले नेतृत्वलाई सही बाटोमा अगाडि बढ्नेगरि आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ । तर, आजको दिनमा विद्याथीहरु विद्यार्थी राजनीति गरिरहेका छैनन् । विद्यार्थीको यस्तो समस्या पर्यो भनेर कसैले फोन गर्दैनन् । कलेजमा यस्तो समस्या पर्यो भन्दैनन् ।
मलाई एक जना विद्यार्थीले पनि समयमा किन परीक्षा भएन ? मेरो पाठ्यक्रममा किन कमजोरी रहृयो ? अनि मैले ८ कक्षा पास गरेका र एमए पास गरेकाहरु किन खाडी मुलुकमा भेटिछन् ? कसैले प्रश्न गर्दैनन् । राजनीति भन्दा अरु केही कुरा छैन । यही कारणले नेविसंघको समयमै महाधिवेशन हुन सकेन भन्ने लाग्छ मलाई । खाली आफ्नो पेशाप्रति इमानदार भए पुग्छ । सरकारमा गएपछि इमान्दार हुनुपर्यो । पार्टीम्ाा बसेपछि पार्टीप्रति जिम्मेवार हुनुपर्यो । यस्तै कारणले हामीले डा. गोविन्द केसी जन्मायौं । हामी आफ्नो पेशाप्रति जिम्मेवारी भएनौं र सत्ता केपी ओलीलाई लगेर बुझायौं ।
यो कुरा हामीले स्वीकार गर्नुपर्छ । सही नेतृत्वका लागि संविधान बाधक हामी अहिले नेविसंघको गुटमा विभाजित भएका छौं । विद्यार्थीहरु गुट, उपगुटमा रमाएका छौं । युवा विद्यार्थीहरुको पार्टीभित्र अहिले चलेको बहसमा बिद्यार्थी नेताहरुको उर्जा अन्यत्र सकारात्मक क्षेत्रमा लगाउन सके कस्तो हुन्थ्यो मलाई त्यस्तो लागिरहेको छ । हैन भने तपाईहरुलाई अध्यक्ष किन बनाउने ? पार्टी सभापति किन बनाउने ? प्रधानमन्त्री किन बनाउने ? प्रवृत्तिमा समस्या छ । हेर्नुस्, संविधान हामीले एउटा उद्देश्यका साथ बनायौं ।
महिलाहरु पछि परेका छन्, दलितहरु पछि परेका छन्, पिछडिएको वर्ग, क्षेत्रका मानिसहरु पछि परेका छन् । उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने सोचका साथ संविधान बनायौं । हामीले पछाडि परेको वर्गलाई राज्यको मुल प्रवाहमा ल्याउन खोजेको हो । त्यसका लागि समानुपातिक समावेशी व्यवस्था गर्यौं तर, परिणाम उल्टो आइरहेको छ ।यही व्यवस्थाका कारण राजनीतिमा क्षमता भएकाहरुले होइन, दासहरुले अवसर पाउने अवस्था बन्यो ।
राजनीतिक नेतृत्वले कि आफ्ना घर परिवारका मान्छेलाई त्यस्ता अवरसर दिएको छ कि आफूलाई ज्यू हजुर गर्नेहरुलाई मौका दिएका छन् । हामीले ल्याएको व्यवस्थाले न्याय दिएन नि । संविधानले यति ठूलो गलत काम गरेको छ कि समानुपातिक समावेशीले सबैभन्दा कमजोर सभापति भएपनि उसैले नियुक्ति गर्न पाउने अवस्था बन्यो । अनि ऊ नै फेरि बलियो हुने भयो । यस कारण सही नेतृत्व विकासका लागि निम्ति संविधानको व्यवस्थाले नै अवरोध गर्यो ।