नेता केसीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने
काठमाडौं । नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने पार्टीले जनाएको छ।
त्यस्तै बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने र १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य केसीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेता केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गरेका हुन ।
संघीय प्रतिनिधि सभाका सदस्य केसीको हिजो राति १०ः३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो ।
दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल व्यक्तित्व हुन । केसी राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम हो । ६५ वर्षको उमेरमा उनको निधनसँगै व्यवसायी एवं राजनीतिककर्मीलगायतले चिन्ता व्यक्त गरेका छन् ।