गुल्मीको रेसुङ्गा नगरपालिका–९ नम्बर वडालाई सिल
समुदायस्तरमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गुल्मीको रेसुङ्गा नगरपालिका–९ नम्बर वडालाई सिल गरिएको छ । त्यस वडाका वडाअध्यक्ष नारन सुनारले सुचना जारी गर्दै यहि कार्तिक १९ गते देखि तीन दिनका वडा कार्यालय बन्द गरिएको उल्लेख गर्नुभएको छ ।
समुदायस्तरमै १६ जनालाई कोरोना भाइरस संक्रमण देखिएकाले त्यस वडालाई सिल गरिएको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि वडाभित्र सञ्चालनभएका अत्यावश्यक बाहेकका सार्वजनिक सेवा, विद्यालय, व्यवसाय, उद्योग, मन्दिर, व्याडमिन्टन, कोर्ट लगायतका सम्पूर्ण जोखिमयुक्त क्षेत्र पूर्ण रुपमा बन्द गरी कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा सहयोग गर्न वडा कार्यालयले आग्रह समेत गरेको छ ।
जिल्लाकै सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १ सय ३७ पुगेको छ । जसमा ३९ जना महिला ९८ पुुरुष रहेका छन् । संक्रमितमध्ये १ सय ७ जनाले कोरोना भाइरस जितेर घर फर्किएका रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिनुभएको छ ।
अहिले रेसुङ्गा नगरपालिकामा ३० जना कोरोना भाइरसका सक्रिय सक्रमित रहेका छन् । जसमध्ये १५ जना महिला र १५ जना पुरुष रहेका अर्यालले जानकारी दिनुभयो । संक्रमितमध्ये रेसुङ्गा नगरपालिका–१ का ५ जना, वडा नं.३ र ५ का १ र १ जना, वडा नं. ७ का ४ जना, वडा नं ८ का १ जना, वडा नं ९ का १६, वडा नं. १० र १३ र १ र १ जना रहेका अर्यालले जानकारी दिनुभयो ।