नेकपामा विवाद चर्किदै, राजीनामा नदिने प्रधानमन्त्रीको अडान

काठमाडौं । नेकपाभित्रको शक्तिले सरकार नै संकटमा पर्ने हो कि भन्ने आशंका बढ्दै गएको छ । मन्त्रिपरिषद्को पुनर्गठन, कर्णाली प्रदेशको किचलो र भारतीय गुप्तचर संस्था रअका प्रमुखसँगको प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलगयातका कारण नेकपाका विवाद चर्किदै गएको हो ।
विवाद उत्कर्षमा पुग्दै गएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदु पुनर्गठनदेखि माओवादी पृष्ठभूमिका नेताहरुसँग खुलेरै सम्वन्ध विच्छेद गर्ने इच्छा रहेको बताएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन् भने माधव नेपाल, झलनाथ खनालहरु भित्रभित्र चलखेल गरेपनि बाहिर मौन देखिएका छन् ।
पुष्पकमल दाहाल र माधव नेपाल समूहले आफूलाई असहयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर आरोप लगाउँदै आएका छन् भने दाहाल, नेपाललगायतका नेताहरुले प्रधानमन्त्री निरंकुश शैलीमा अघि बढेको टिप्पणी गर्दै आएका छन् ।
दाहाल र नेपाल समूहले पार्टीको संसदीय दलमा पनि आफ्नो वहुमत भएकाले प्रधानमन्त्रीले चाहेको सवै कुरा हुन नसक्ने दावी गरेका छन् । भदौ २६ गते स्थायी कमिटी वैठकले पार्टी र सरकार विधि र पद्धति अनुसार सञ्चालन हुनुपर्ने र प्रम ओलीले पार्टीका हरेक निर्णय मान्नुपर्ने निर्देशन दिएको थियो । तर पछिल्ला गतिविधिले त्यसमा प्रश्न चिन्ह उठेको छ ।
पार्टी विभाजन गरेर नयाँ दल बनाउन केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत सदस्य हुनै पर्ने व्यवस्था छ । ओलीसँग संसदीय दलमा ४० प्रतिशत सांसद रहने सम्भावना भएपनि केन्द्रीय कमिटीमा त्यस्तो संख्या पुग्छ कि पुग्दैन भन्ने हिसावकिताव पनि हुन थालेको छ ।
सरकारले समाजवादी पार्टी फुटाउन विगतमा अध्यादेश ल्याएपनि फुटाउने योजना असफल भएपछि अध्यादेश फिर्ता लिएको थियो । अहिले आएर सोही अध्यादेशलाई ओली पक्षले क्रियाशिल बनाउन सक्ने सम्भावना पनि रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यस्तै पूर्वमाओवादीले सरकार परित्याग गरे वा ओलीले माओवादीका सवै मन्त्री हटाए पनि नेपाली राजनीतिमा नयाँ समीकरण बन्न सक्ने सम्भावना पनि छ । कांग्रेस लगायत अन्य दल पनि मिलिजुली सरकार बनाएर भागवण्डामा रमाउने वानी परेकाले ओलीकै नेतृत्वमा उनीहरु सहभागी नहोलान भन्न सकिन्न । वर्तमान सरकारलाई अपदस्थ गर्न र नयाँ सरकार बनाउन विदेशी शक्तिहरु पनि पासो थापेर बसेका छन् ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्याएका छन् । अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको बताउँदै उनले अहिले राजीनामा दिने कुरै नहुने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू रहरले नभई, जनताका आवश्यकता र समर्थनले प्रधानमन्त्री भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउने चलखेल भइरहको बताउँदै यस्ता चलखेलहरु भित्र–बाहिर भइरहने तर अन्तिममा केही नहुने बताउँदै भन्नुभयो ‘देशका लागि म अहिले राजीनामा दिनेवाला छैन ।’
केही दिनअघि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुँदा गरिएको सहमतिअनुसार साढे दुई वर्ष बितेकाले प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका थिए।
केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने कोशिस भए पनि त्यस्तो प्रयास सफल नहुने पनि उनले बताएका छन् ।