बैठक बोलाउन ओलीलाई दवाव दिने प्रचण्ड समूहको निर्णय
काठमाडौं । आज पार्टी कार्यालय धुम्वाराहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले भनिए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहको वैठक जस्तै भएको छ । वैठकमा ओली पक्षका सचिवालय सदस्यहरु उपस्थित थिएनन् । वैठकमा अध्यक्ष तथा सचिवालय सदस्य केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा वादल उपस्थित थिएनन् । त्यसैले यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठहरुले कहिले कोटेश्वर, कहिले खुमलाटारमा समूहको छलफल गर्थे आज पार्टी कार्यालयमा गरे, फरक त्यति मात्र हो ।
आज भएको प्रचण्ड समूहका सचिवालय सदस्यहरुको वैठकले अध्यक्ष ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक रुपमा दवाव दिने निर्णय गरेको छ ।
कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताएका छन् ।
ओली दुई अध्यक्षबीच सहमति नभई वैठक नबोलाउने र एकतर्फी वैठक बोलाए आफू उपस्थित नहुने र त्यस्तो वैठकले गरेको निर्णय आफूले नमान्ने चेतावनी दिएका थिए ।