फोटो पत्रकार वन्त अब मोडलिङमा

काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेका छन् । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा स्थापित गरेका छन् ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका एमडी समेत हुन । फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, फोटो पत्रकारको हक हित र अधिकारका लागि सधै लड्दै आएका वन्त पहिलो पटक कलाकारितातर्फ समेत लाग्नु भएको हो ।
गीतकार  नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निर्माण गरिएको  ‘परदेशिको पिडा’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा विमोचन गरेका छन् ।
गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री ( भिडियो) नविनबाबु  गरुङको निर्देशन तथा छायाङकन रहेको छ ।  यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गर्नु भएको थियो । साथै सम्पादन नविन निरौलाको रहेको छ । 
आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिएका छन् । आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको र आगामी दिनमा पनि सिजन इन्टरटेनमेन्टका तर्फबाट आम रुपमा रुचाइने सामग्री प्रस्तुत गर्ने उनको भनाइ छ ।
फोटो पत्रकारिता पनि कलाको एउटा रुप भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको भन्दै वन्तले नेपाली शैलीका गीत र संगीतलाई प्रश्रय दिने उल्लेख गरेका छन् । आफूले पहिलो पटक गरेको प्रयासलाई स्वीकार गर्दै यसमा भएका कमी कमजोरीलाई आगामी दिनमा सच्याउने समेत उनको भनाइ छ ।
उनले आफूलाई अवसर दिने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा सक्रियताका साथमा गीत संगीतको क्षेत्रमा समेत क्रियाशिल हुने बताए । 
उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।