तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा
बुटवल । तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत तिलोत्तमामा पहिलो चरणमा १२ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरु भएको बताइएको छ ।
एक विद्यालयमा एक नर्स खटाउने गरी १२ जना स्टाफ नर्स नियुक्त गरेर नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको तिलोत्तम नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको र बाँकी सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त हुने नगरपालिकाले जनाएको छ ।
नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवर्द्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने बताइएको छ ।
स्टाप नर्सहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भएरनभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्ने नगरपालिकाले जनाएको छ ।