सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको दवाव

महासचिव पौडेललाई बैठक बोलाउने जिम्मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालयको वैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पुनः दवाव दिएका न् । आज भएको भेटमा प्रचण्डले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेपनि ओलीले सहमति नजनाएको नेकपा स्रोतको दावी छ । तर ओलीपक्षका नेताहरुका अनुसार अध्यक्ष ओली वैठक बोलाउन तयार रहेको र त्यसको जिम्मा महासचिव विष्णु पौडेलले दिएको बताइएको छ ।
नेकपाको सचिवालय बैठक असोज १९ गतेदेखि बस्न सकेको छैन । पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठक रोकिएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रहसहित लिखित पत्र नै ओलीलाई बुझाएका छन् । कात्तिक २३ मा बालुवाटार पुगेर बैठक बोलाउन माग गर्दै पत्र बुझाएका थिए ।
ओली निकट नेताहरुले पनि वैठक बोलाउन सुझाव दिएपछि अध्यक्ष ओली पनि बैठक बोलाउन तयार भएको बताइएको छ । ओलीले महासचिव पौडेललाई बैठक बोलाउने जिम्मा दिएको बुझिएको छ ।
बैठक बोलाउने जिम्मा पाए लगत्तै महासचिव पौडेल सोमबार खुमलटार पुगेर प्रचण्डसँग वार्ता गरेको बताइएको छ । महासचिव पौडेलले बैठक बोलाउने तयारी भइरहेको संकेत गरेका छन् ।