महाकवि लक्ष्मीप्रसाद देवकोटको ११२ औँ जन्मजयन्ती मनाईयो
गुल्मी । महाकवि लक्ष्मीप्रसाद देवकोटको ११२ औँ जन्मजयन्ती तथा किरण पुस्तकालय तम्घास गुल्मीको ५२ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईएको छ । पुस्तकालयको वार्षितकोत्सव सहित आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाईएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमलाई ध्यान पुर्याउँदै विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गरि भौतिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।
विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिनुभएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो । तिथि अनुसार महाकवि देवकोटको जन्मजयन्ती यस वर्ष कार्तिक २९ गते परेको छ ।
किरण पुस्तकालयले भने पुस्तकालयको स्वर्णजयन्ती वर्ष देखी महाकवि देवकोटको जन्मदिनको अवसर पारि कार्तिक २७ गते पुस्तकालयको बार्षिकोत्सव तथा महाकवि देवकोटाको जन्मजयन्ती एकैसाथ मनाउँदै आएको छ ।
आफ्नो स्वर्णजयन्ती वर्ष देखि पुस्तकालयले निर्णय नै गरि महाकवि देवकाटाको जन्म भएको दिन कार्तिक २७ गतेका दिन पुस्तकालयले उहाँको जन्मजयन्ती मनाउँदै आएको पुस्तकालयका संस्थापक एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रध्यापक शशी पन्थीले जानकारी दिनुभयो ।
देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता सङ्ग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ ।
उहाँको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’लाई, काव्य–खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिमूलक कृति मान्ने गरिन्छ ।
आज भएको कार्यक्रममा किरण पुस्तकालयका वर्तमान उपाध्यक्ष समेत रहनुभएका पन्थीको सभापतित्व तथा पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तै पूर्व क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल, किरण पुस्तकालयका कोषाध्यक्ष चनक कुँवर लगायत बिशिष्ट साहित्य अनुरागी एर्व बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक प्रमुख रामप्रसाद खनाल तथा कवि लक्ष्मणप्रसाद रिजालले कविता वाचन गर्नुभएको थियो ।
पुस्तकालय सञ्चालक सदस्य गोपाल प्रसाद पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पुस्तकालयका आजिवन सदस्य भुवन प्रसाद अर्यालले गर्नुभएको थियो । यस पुस्तकालयबाट डेढ दर्जन ऐतिहासिक, सांस्कृतिक र साहित्यीक अनुसन्धानमूलक कृतिहरु प्रकाशित भएका छन् । त्रैमासिक रुपमा सञ्चालन हुँदै आइरहेको राष्ट्रिय साहित्यीक त्रैमासिक पत्रिका ‘हाम्रो पुरुषार्थ’ को ८७ अङ्गसम्म प्रकाशित भईसकेको छ । पुस्तकालयको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ ।