विकासप्रेमी जनप्रिय नेता चन्दको निधनले अपुरणीय क्षति
गुल्मी । गुल्मीका विकासप्रेमी जनप्रिय नेता बैकुण्ठ बहादुर चन्दको निधन भएको छ । तत्कालीन गुल्मी जिल्ला पञ्चायतका सभापति समेत बन्नुभएका जिल्लाका विकासप्रेमी नेता समाजसेवी व्यक्तित्व वैकुण्ठबहादुर चन्द बोहोरा श्रेत्रीको ८७ वर्षको उमेरमा निधन भएको हो । जिल्लाको मदाने गाउँपालिका–१ का चन्दको उपचारकै क्रममा बुधबार काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्लाकै इतिहासमा पहिलो पटक तानसेन देखि सदरमुकाम तम्घाससम्म जनसहभागिताको बलमा कोदालोले मोटर बाटो खनेर यातयात शुरु गरि लोकप्रियता कमाउनुभएका समाजसेवि एवं गुल्मेली नेता चन्दको मोटरबाटो निर्माण तथा झोलुङ्गे पुल निर्माणमा बिशेष योगदान रहेको छ । चन्दले आफ्नो जिवनकालमा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय चन्दको निधनमा जिल्लामा सक्रिय रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले शोक व्यक्त गरेका छन् ।
चन्दको निधनमा नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाले शोक व्यक्त गरेको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाका पूर्व सभापति समेत रहनुभएका चन्दको निधनप्रति नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको छ ।
चन्दको निधनले गुल्मेली रेडक्रसकर्मी मर्माहत भएको उल्लेख गर्दै सभापति श्रेष्ठले चन्दको निधनले नेपाल रेडक्रस सोसाइटी गुल्मीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । सभापति श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको विकासमा स्वर्गीय चन्दले पु–र्याएको योगदान सदा स्मरणीय रहेको समेत उल्लेख गर्नुभएको छ ।
शोक वक्तव्य मार्फत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा परिवार, उपशाखाहरु, जुनियर तथा युवा सर्कलहरु एवं सम्पूर्ण रेडक्रसकर्मीहरुको तर्फबाट दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तहरुमा समवेदना व्यक्त गरिएको छ ।
यस्तै स्वर्गीय चन्दको निधनमा किरण पुस्तकालय तम्घास गुल्मीले आज एक दिन पुस्तकालय बन्द गरेको छ । यस पुस्तकालयका व्यवस्थापन समितिका पूर्व सदस्य तथा तत्कालीन गुल्मी जिल्ला पञ्चायतका सभापति राष्ट्रिय पञ्चायतका सदस्य विकासप्रेमी समाजसेवी व्यक्तित्व चन्दको निधनले किरण पुस्तकालय परिवार स्तब्ध तुल्याएको पुस्तकालयले जनाएको छ । शोकको यस दुःखद घडीमा उहाँको परिवारका सबै सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति चिरशान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
गुल्मेलीहरूले सामाजिक संजाल फेसबुक मार्फत जिल्लामा पूर्वाधार विकासका सुत्रधार र विकासप्रेमी नेताको निधनले गुल्मी जिल्लालाई नै क्षति पुगेको धारणा व्यक्त गरिरहेका छन्। चन्द २०२५ सालदेखि ३८ सालसम्म जिल्ला पञ्चायतको सभापति र २०३८ सालदेखि २०४६ साल सम्म राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको निधनप्रति नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीले शोक व्यक्त गरेको छ । जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले एक शोक वक्तव्य जारी गर्नुहुँदै अग्रज समाजसेवी शमाको यहि मंसिर २ गते भएको दुःखद निधनप्रति गुल्मेली रेडक्रसकर्मी मर्माहत भएका उल्लेख गर्दै रेडक्रस सोसाइटीलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
शोक वक्तव्यमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा परिवार, उपशाखाहरु, जुनियर तथा युवा सर्कलहरु एवं सम्पूर्ण रेडक्रसहरुकर्मीको तर्फबाट दिवगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवार तथा आफन्तहरुमा समवेदना व्यक्त गरिएको छ ।