उपत्यकामा संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा संक्रमितको संख्या एक लाख ८७२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्।