छिमेकीको दौडधुप केका लागि ?
काठमाडौं । नेपालमा आफ्नो प्रभाव बढाउन भारत, चीन, अमेरिका र युरोपियन युनियन जस्ता शक्तिले अनेकौ कूटनीतिक प्रयास गरिरहेका छन् । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणले नेपाली राजनीतिमा मात्र होइन, कूटनीतिक क्षेत्रमा पनि चर्चा पाइरहेको छ ।
पछिल्ला केही महिनादेखि भारतले नेपालसँग कूटनीतिक वार्ता र भेटघाटलाई तीव्र बनाएको छ । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले विभिन्न वहानामा अर्थमन्त्री, अर्थसचिवदेखि प्रधानसेनापति समेतसँग भेटघाट गरिसकेका छन् भने भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगाले यही नोभेम्बर २६ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् । गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।
भ्रमणको क्रममा श्रृंगलाले समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।
विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ ।
पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ ।
त्यसको केही दिनपछि नै चीनका रक्षामन्त्री वेइ फङ्गह पनि नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही दिनअघि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गरेकी थिइन् । सोही भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको स्रोतले बताएको छ । अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले सम्हालेका छन् ।
भ्रमण नोभेम्बर २९–३० मा गर्ने गरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति तलमाथि हुन सक्ने बताइएको छ । नेपाल आएर उनी अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने बताइएको छ ।
सन् २०१९ को अक्टोबर महिनामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए । सो भ्रमणको समयमा २.५ विलियन बराबरको सैन्य सहयोग नेपाली सेनालाई गर्ने सहमति भएको थियो ।
गत वर्षको जुन महिनामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले चीनको औपचारिक भ्रमण गरेका थिए । चिनियाँ रक्षामन्त्रीको भ्रमण नियमित दुईपक्षीय आदान प्रदान भएको बताइएको छ ।
तर कोरोना महामारीका बीचमा भइरहेहका भ्रमणहरुलाई नियमित दुईपक्षी आदानप्रदानका रुपमा मात्र हेर्न नसकिने कूटनीतिज्ञहरु बताउँछन् ।
विदेशीहरुको बढ्दो दौडधुप र नेपालमा विकसित राजनीतिक घटनाक्रमले सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
चीनले नेपालमा भारत र पश्चिमा शक्तिहरुले खेलिरहेको विश्लेषण गर्दै चीनका अहित हुने काम भएमा त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी पनि दिदै आएको छ । सन् १९६२ मा चीन र भारतबीच युद्ध भएपछि दुवै देशका निम्ति नेपाल निकटतम् छिमेकी मात्र नभएर सामरिक र कूटनीतिक महत्वको थलो समेत भएको देखिन्छ ।