नेपाल–भारत सम्बन्धका चार खम्बामा जोड दिउँ : भारतीय विदेशसचिव
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बालाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।
विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरु र नेपालको युवापुस्तालाई भारतमा उपलब्ध शिक्षाका अवसरमा सहज र थप पहुँच नै नेपाल–भारत सम्बन्धका चार खम्बा भएको उनको विश्लेषण छ ।
प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल–भारतबीच बिभिन्न तहका बैठक र संयन्त्रहरु नियमित र थप क्रियाशिल भएको उनले बताएका छन् ।
नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने भारतीय विदेशसचिव श्रृंगलाले बताएका छन् ।
श्रृंगलाले एआईडीआईए नामक संस्थाले आयोजना गरेको संवाद कार्यक्रममा शुक्रबार बिहान सो मन्तव्य दिएका हुन् ।