सरकार हिँउदे अधिवेशनको तयारीमा छ : कानुनमन्त्री
काठमाडौं । सरकारले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी गरिरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले बताएकी छिन् ।
शुक्रबार संघीय संसद सचिवालयले गरेको संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले संसदले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्ने बताइन् । उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । उनले भनिन्–‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन ।’
तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेशमार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन् ।