टोललाई सुन्दर, शान्त र हरियाली बनाउने उद्देश्य छ
– कृष्ण कँडेल, अध्यक्ष, सृजनशील टोल विकास संस्था, भरतपुर १६, चितवन
यस टोल विकास संस्थाको स्थापना कहिले भयो ? यो नाम कसरी राखियो ?
यस सृजनशील टोल विकास संस्थाको स्थापना २०७३ साल जेष्ठ ३१ गते भएको हो । यो संस्था स्थापना हुनु भन्दा पहिले २०५६ सालदेखि नै सृजनशील आमा समूहको नामबाट परिचित भएकोले यही नामबाट नै सृजनशील टोल विकास संस्थाको नामाकरण गरिएको हो ।
यस संस्था स्थापनाका उद्देश्यहरु के के हुन् ?
नेपाल सरकारको नीति, नियम र निर्देशन पालना गर्दै देशभरि टोल विकास संस्था निर्माण गर्ने अभियान अनुरुप सृजनशील टोलवासीहरुको सहमतिमा यस टोल विकासको सीमाक्षेत्र निर्धारण गरी सृजनशील टोल विकास संस्था स्थापना गरिएको हो ।
यस संस्थाका उद्देश्यहरु
क) विशेष गरी संस्थाको विधानअनुरुप यस सृजनशील टोलको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका लागि टोलवासीहरुसँग सहकार्य गर्दै सक्षम र दिगो संस्थाको रुपमा विकास गर्ने ।
ख) स्थानीय एवं सम्बन्धित निकायबाट टोल विकासका लागि आएका विभिन्न किसिमका परियोजनाहरुलाई समन्वय गर्दै टोलविकासमा टोलवासीहरुसँग सहकार्य गर्ने ।
ग) टोलवासीहरुको आर्थिक र वैचारिक विकासका लागि विभिन्न प्रकारका सृजनात्मक तथा रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने ।
घ) टोल विकास क्षेत्रभित्र भएका विभिन्न प्रकारका विकृति, विसंगति तथा आइपर्ने विभिन्न समस्याहरुलाई सहजीकरण गर्दै त्यसको समाधानका लागि पहल गर्ने ।
ङ) समग्रमा आफ्नो टोललाई सुन्दर, शान्त र हरियाली बनाउँदै एक नमुना टोल विकास संस्थाको रुपमा यसलाई स्थापित बनाउनु नै यस संस्थाको उद्देश्य हो ।
तपाईं कहिलेदेखि यस संस्थाको कार्यसमिति वा अध्यक्षको पदमा रही काम गर्दै आउनुभएको छ ?
म २०७५ साल श्रावण १९ गते भएको यस संस्थाको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भई काम गर्दै आएको छु ।
संस्था स्थापनाको उद्देश्य र विधि विधान अनुसार काम भइरहेको छ त ?
मेरो विशेष प्राथमिकता भनेको संस्थाको विधि विधान अनुसार नै काम गर्नु वा काम गर्ने प्रयास गर्नु हो । तथापि कहीं कतै सो अनुसार काम नभएको पनि हुन सक्छ, तर पनि म के कुरामा विश्वस्त छु भने अहिलेसम्म गरिएका सम्पूर्ण सामाजिक कार्य संस्थाको स्थापना, उद्देश्य र विधि विधान अनुसार नै भइरहेको छ ।
तपाईंको नेतृत्वमा के के काम भए ?
संस्था गठन हुनु ठूलो कुरा होइन, त्यसैगरी संस्थालाई जसोतसो चलाउनु मात्र पनि ठूलो कुरा होइन । यसो भन्दै गर्दा कामहरु के के सम्पन्न भए भन्नु भन्दा पनि हामीले सम्पन्न गरेका अभियानहरु ठीक छन् कि छैनन्, त्यस्ता कामहरु तथा अभियानहरु परिणाममुखी भए कि भएनन् भन्ने हिसाबले बुझेको छु । संस्थालाई दिगो र सही मार्गमा हिंडाउनका लागि प्रथम अधिवेशन भएकै दिनमा महिला समूह, युवा समूह, सल्लाहकार समिति, अनुगमन समिति र प्रवास समिति गठन गर्दै सबै समितिलाई उपयुक्त कार्य विभाजन गरियो जसको परिणामस्वरुप सबै समितिले संस्थाको विधान र सीमाक्षेत्र भित्र रही जिम्मेवारीपूर्वक आफ्ना कार्यहरु सम्पादन गर्दे आइरहनु भएको छ । त्यसै गरी यस टोल विकास भित्र भएका लागूऔषध दुव्र्यसन, मदिरापान, जुवातास साथै विभिन्न प्रकारका विकृतिजन्य कार्यहरुलाई बन्द गर्न सफल भयोैं । त्यसैगरी उज्यालो अभियानका लागि निरन्तर यस टोल भित्रका सडकमा सडकबत्तीहरु मर्मत तथा जडान कार्यहरु गर्दै आएका छौं । यस संस्थाको दिगो विकासका लागि १० लाखको अक्षयकोषको स्थापना ग¥यौं । त्यस्तै सामाजिक कार्यहरुमा यथासक्य आर्थिक सहयोग गर्दै आएका छौं ।ं जस्तै ः गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि रु. ५०,५००।– र शिवालय मन्दिर निर्माणका लागि रु. १३,०००।– आर्थिक सहयोग ग¥यौं । त्यसैगरी टोल भित्रका ज्येष्ठ, अपांग तथा असक्त नागरिकहरुलाई सम्मान कार्यक्रम ग¥यौं । टोल विकास क्षेत्रभित्र सरसफाई अभियान निरन्तर चलाइरहेका छौं । बाटो बिराएका तथा सही बाटोमा हिंड्न चाहेका युवाहरुलाई समयोचित परामर्श दिदै उनीहरुलाई संस्थाकै विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यहरुमा सहभागी गराउँदै उनीहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याउँदै आएका छौं ।
संस्थामा काम गर्दा अप्ठ्यारा र अपजश के के बेहोर्नु भयो र बेहोर्दै हुनुहुन्छ ?
संस्थामा आबद्ध भएर समाजकै लागि काम गर्दै गर्दा सानातिना अप्ठ्यारा त हुन्छन् नै तर पनि मैले यसलाई ठूलो समस्याको रुपमा बुझेको छैन ।
संस्थामा काम गर्दा पाएको जश र सहानुभूति पनि बताइदिनुस् न ?
मैले संस्थामा काम गर्दा यो यो कुराको जश पाएँ भन्नु भन्दा पनि सम्पूर्ण टोलवासी आमाबुुवा, दाजुभाइ, दिदीबैनी, अग्रजहरु साथै स–साना नानी बाबुहरुले निरन्तर रुपमा सहयोग र सुझाव दिदै आइरहनुभएको छ, जसले गर्दा यस संस्थालाई अगाडि बढाउन मलाई थप उर्जा प्राप्त भइरहेको छ ।
यस टोलका मुख्य समस्याहरु के के हुन् ? तपाईंको नेतृत्वमा के कस्ता प्रयासहरु भए र के कस्ता काम हुँदैछन् ?
यस टोलको मुख्य समस्या भनेको सडक बाटोको स्तरोन्नति, बेरोजगारी, खानेपानी, स्वास्थ्य र शिक्षा नै हुन् । यस्ता समस्याहरुका लागि मलगायत कार्यसमितिका सम्पूर्ण साथीहरुले सम्बन्धित निकायहरुमा समस्याहरु राख्ने र समाधानका उपायहरुमा छलफल गर्ने कार्यहरु भइरहेका छन् ।
यस संस्थालाई वडाको साथ र सहयोग कत्तिको छ ? वडाले संस्थाका के कस्ता अपेक्षा पूरा गर्न सकेको छैन ?
वडाकै निर्देशनमा संस्थाहरु चल्ने भएकाले वडाको साथ धेरै वा थोरै भन्नु भन्दा पनि समग्र टोल विकासको सहयोगमा प्रयाप्त मात्रामा सहयोग पाउन सकिएको छैन ।
विधानतः यस संस्थाको अधिवेशन कहिले हुँदैछ ?
विधानतः यस संस्थाको अधिवेशन प्रत्येक २/२ वर्षमा हुने गर्दछ । तर यसपटक विश्वव्यापी महामारी कोभिड १९ को कारणले गर्दा सम्पूर्ण कार्यसमितिको बैठक गरेर सहज परिस्थिति र समय आएपछि यस संस्थाको दोश्रो अधिवेशन गर्ने भनी हाललाई निर्णय गराइ राखिएको अवस्था छ ।
अब आउने कार्यसमितिमा बस्ने तपाईंको चाहना हुन्छ कि हुदैन ?
टोलवासीको चाहना र भावना अनुरुप बस्न पनि सक्छु ।
टोलवासीहरुलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम म सम्पूर्ण टोलवासीहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँहरुको सहयोग र समर्थनमा मलाई यस संस्थाको नामबाट परिचित एवं सामाजिक काममा उत्प्रेरित गराउनुभएकोमा म आफैमा आत्मसम्मानका साथ सबैमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
र अन्त्यमा, भन्न मन लागेका र भन्नै पर्ने केही कुरा छन् कि ?
अन्त्यमा म के भन्न चाहन्छु भने, हामी सामाजिक प्राणी हौं । समाजमा रहँदा यो वा त्यो नभनीकन विशुद्ध भावना बोकी एक आपसमा भाइचाराको हिसाबले मिलेर आर्थिक, भौतिक, सामाजिक र साँस्कृतिक सबै रुपमा परिवर्तनको वा संरक्षणको आवश्यकता भएकोले सम्पूर्ण सकारात्मक एवं सृजनात्मक कार्यमा सहभागी बनौं, सभ्य नागरिक बनौं, असल समाजको निर्माण गरौं, स्वच्छ हराभरा वातावरणमैत्री समाजको निर्माण गरौं । त्यसमा तपाईं हामी वा सम्पूर्ण मानवजातिको कल्याण हुनेछ भन्न चाहन्छु । साथै, यस संस्थाको बारेमा दुईचार कुराहरु राख्ने मौका दिनुभएकोमा रेसुंगा मिडिया परिवार विशेषगरी शिशिर सापकोटाज्यूलाई हृदयदेखि नै आभार प्रकट गर्दै विदा हुन्छु ।