सडक विस्तार गर्दा व्यक्तिको सम्पत्तिको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा पीडितहरु बिस्थापित हुने अवस्था आएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले मंगलबार विज्ञप्ति प्रकाशित गरी काठमाडौं उपत्यकाको बालाजु, बानेश्वर, खोकना लगायतका क्षेत्रहरुमा सडक विस्तारमा काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रहरीहरु प्रयोग गरी जबरजस्ती घरहरु भत्काई व्यक्तिहरुको आवासको अधिकार हनन गरेको भनिएको घटनाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।
काठमाडौंको बालाजु वाइपास लगायतका क्षेत्रहरुमा रहेका ३९ घरहरुमा चाडवाडको समयमा समेत विना सूचना अचानक ठूलो संख्यामा प्रहरीहरु परिचालन गरी पटक पटक डोजर÷स्काभेटर प्रयोग गरी सम्पत्ति नष्ट पारिएको र हालसम्म पनि निजहरुलाई क्षतिपूर्ति उपलब्ध नगराइएको र कुनै वैकल्पिक बसोवासको व्यवस्था समेत नगरिएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
आफ्नो अधिकारको संरक्षणको लागि स्थानीय नागरिकहरुबाट विभिन्न समयमा शान्तिपूर्ण आन्दोलन र रिले अनसन समेत भइरहेको र त्यसप्रति प्रहरी हस्तक्षेप र दुरव्यवहार समेत हुने गरेको पाइएको आयोगले जनाएको छ ।
‘नागरिकको हक अधिकारको संरक्षणको जिम्मेवारी राज्यका निकायहरुकै भएको हुँदा संविधानको धारा २५ र ३७, नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, आर्थिक सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, आइएलओ महासन्धि नं. १६९ तथा संयुक्त राष्ट्रसंघिय आन्तरिक रुपमा विस्थापन सम्बन्धि निर्देशक सिद्धान्त १९९८ समेतको विपरित हुने गरी कार्य हुनु अत्यन्त दुःखद छ’ आयोगले भनेको छ ।
सर्वोच्च अदालतको आदेश विपरीत व्यक्तिको घर भत्काई विस्थापित बनाउनुको साथै सम्पत्ति समेत नष्ट गरिएका व्यक्तिहरुको सम्पत्तिको उचित क्षतिपूर्तिको व्यवस्था गरी आवास तथा सम्पत्तिको अधिकार सुनिश्चित गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।