नेकपा विवाद : तिक्तता मेट्न संवाद बढाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्किदै गएपछि संकट समाधानका लागि नेताहरुबीच संवाद बढाउने तयारी भइरहेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आरोपप्रत्यरोप नै चलेपछि पार्टीका आमा नेता, कार्यकर्ता चिन्तित बनेका छन् । सचिवालय वैठकमा दुई अध्यक्षबाट एकपछि अर्को आरोपप्रत्यारोप समेटिएका प्रस्ताव आएपछि नेकपाको विवाद थप पेचिलो बन्दै गएपछि नेताहरुले संवादबाटै समाधानका उपाय खोज्ने समझदारी गरेको बुझिएको छ ।
औपचारिक बैठकका साथै नेताहरुबीच छलफल जारी राख्नु उचित हुने आजको सचिवालय बैठकमा प्रस्ताव आएको र सोही अनुसार भोलि सचिवालय वैठक अघि नेताहरुबीच छलफल हुने बताइएकोछ ।
एक सचिवालय सदस्यका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभई कुनै छलफल नगर्ने अडान लिएका थिए ।
ओलीले प्रचण्डको प्रस्ताव फिर्ता नभई छलफल गर्नुको अर्थ नभएको बताएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । ‘सचिवालयका बहुमत सदस्यले प्रतिवेदनमाथि छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने बताएपछि छलफलको सुरुवात भएको बताइएको छ ।
दुईजना अध्यक्षले धारणा राखेपछि सचिवालयका अन्य सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रम नसकिएकाले भोल १ वजे पुनः वैठक बस्ने बताइएको छ । त्यसअघि पनि नेताहरुबीच अनौपचारिक छलफल हुने बताइएको छ ।
पार्टी कमिटीमा प्रवेश गरेको दस्तावेज कसैले चाहदैमा वा कसैलाई मन नपर्दैमा फिर्ता गर्न नमिल्ने र त्यसमाथि घनिभूत छलफल हुनुपर्ने सचिवालयका बहुमत सदस्यहरुको धारणा रहेको बताइएको छ ।