गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अभियान तिव्र
गुल्मी जिल्लाको दुई स्थानीयतहमा २२ हजार भन्दा धेरैको राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका र धुर्कोट गाउँपालिकामा गरि २२ हजार ६ सय ७५ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् ।
गुल्मीदरबार गाउँपालिकामा कार्तिक २३ गते देखि मंसिर १२ गतेसम्म ११ हजार ९०५ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभएको छ । त्यस्तै धुर्कोट गाउँपालिकामा कार्तिक २५ गते देखि मंसिर १६ गतेसम्म १० हजार ७ सय ७० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको प्रजिअ शर्माले बताउनुभयो ।
१२ वटा स्थानीयतहमध्ये गुल्मीदरबार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन कार्य सकिएको प्रजिअ शर्माले बताउनुभयो । उहाँले गत चैत महिनाबाटै विवरण संकलनको काम गर्ने योजना बनाए पनि कोभिड–१९ को कारण रोकिएको जानकारी दिनुभयो । अहिले सौहार्दपूर्ण वातावरणमा विवरण संकलनको कामलाई तीब्र पारिएको प्रजिअ शर्माले बताउनुभयो ।
यतिबेला यस जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई तीब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीयतहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई तीब्र पारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उद्धब पन्थीले बताउनुभयो । उहाँले मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन कार्य भइरहेको बताउनुभयो । विवरण संकलनका लागि ६० जना कर्मचारी खटिएका छन् ।
राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु–उपयोगी प्रमाणपत्र हो । यस जिल्लामा २०७६ साउनबाट यो कार्यक्रम लागु भएको हो । जिल्ला प्रशासन कार्यालयमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आफ्नो विवरण संकलन गरेर राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान शुभारम्भ गर्नुभएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ०७६ साउन देखि नै स्थायी स्टेशन स्थापना गरेर विवरण संकलनको काम भइरहेको छ ।
परिचयपत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिईन्छ । व्यैक्तिक विवरण अन्तरगत नामथर, ठेगाना, जन्ममिति, बुवा÷आमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश आँैलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइने पन्थीले बताए । अहिले सञ्चालन गरिएको अभियान मार्फत तथा जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रको लागी दरखास्त नदिएमा पछि विलम्व शुल्क लाग्ने उहाँले बताउनुभयो । हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।