नेकपा अव कसरी अगाडि बढ्ला ?
वैठकमा अनुपस्थित अध्यक्ष ओलीले पठाए स्थायी कमिटी सदस्यहरुलाई पत्र
काठमाडौं । कात्तिक २५ गतेबाट भेटघाट र वोलचालसमेत बन्द गरेर बसेका नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिवार बालुवाटारमा संवाद शुरु गरेका छन । अध्यक्षद्धयको संवाद र भेटघाट पछि स्थायी समितिको बैठक बसेको थियो तर वैठकले विवाद मिलाउन सकेन । नेकपाको विवाद समाधान गर्ने जिम्मा स्थायी कमिटी वैठकलाई दिइएको छ । आजको स्थायी कमिटी वैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्तावहरु स्थायी कमिटी सदस्यहरुले वितरण गरिएको छ । उनीहरुले अध्ययन गरेर अनौपचारिक छलफल समेत गर्ने छन् र यही २८ गते अर्को वैठक बसेर निष्कर्ष निकाल्ने बताइएकोछ ।
स्थायी कमिटी वैठक एक हप्ता पछि बस्ने भएका कारण यही २५ गतेका लागि मिति तय भएको केन्द्रीयकमिटी वैठक पुस ५ गतेसम्मका लागि धकेलिएको छ । सचिवालय हुँदै स्थायी समिति वैठकमा आउँदा समेत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अडान उस्तै छ । त्यस्तै अर्का अध्यक्ष प्रचण्डपक्षधरको पनि अडान पुरानै भएकाले विवाद अझ गहिरदै जाने देखिन्छ । अध्यक्षद्धयका फरक फरक प्रस्ताव र उनीहरुका समर्थकहरु पनि गुट उपगुटमा माडिएका कारण नेकपाको आन्तरिक बिवाद सल्टिने भन्दा पनि बल्झिलनेतिर नै अग्रसर हुँदै आएको छ ।
दोश्रो पुस्ताका नेताहरुको जोडबलपछि प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्षको भुमिकामा रहेका दाहाल बिच भेटवार्ता संभव भएको बताइन्छ । तर खासै उपलव्धीमुलक भएको पाइदैन । यसबीचमा राष्ट्रपति बिद्या भण्डारीसँग पनि प्रधानमन्त्री ओली र दाहालले पटकपटक गोप्यरुपमा भेटवार्ता गर्न भ्याएका छन ।
नीति, सिद्धान्त र बिचारका लागि भन्दा पनि सत्ता, शक्ति प्रतिष्ठा, व्यक्तिगत स्वार्थ केन्द्रित नेकपाको बिवादलाई नेपाली जनताले खासै रुचाएका पनि छैनन । मुलुक र जनताको स्वार्थमा भन्दा पनि व्यक्तिगत र राजनीति लडांईमा उनीहरु केन्द्रित भएका छन । जसका कारण नेपाली जनताले आन्दोलन र बलिदान गरेर ल्याएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता राजनीतिक उपलव्धीहरु गुम्ने खतरा बढेर गएको भन्दै आमजनता निराश बनेका छन । यस्तो अवस्थामा नेताहरु मिल्नुको बिकल्प नभएको आवाज सवत्र उठिरहेको छ ।
नेता तथा कार्यकर्ताहरुको निरन्तर दवाव, राष्ट्रपति भण्डारीको सक्रियता र छिमेकीमुलुक चीनको सदभावका कारण पनि नेकपा तत्काल फुटिहाल्ने अवस्थामा नरहेको राजनीतिका जानकारहरुले बताउँदै आएका छन ।
बिगत केही दिनको घटनाक्रम र सडक आन्दोलन गरेकाहरुको अनुहार हेर्दा सरकार र नेकपाको नालायकीपनको कारण नै यो अवस्था आएकोमा नेपाली जनता चिन्तित हुन पुगेका छन । यो बिषयमा कोही कसैको पनि दुई मत छैन । जनताले बलिदान गरेर ल्याएको उपलव्धीलाई संरक्षण गरेर संस्थागत गर्दै अगाडि बढनुको सटट मुख्य राजनीतिक दलहरु नै एक आपसमा लडाईं गर्दा त्यसको प्रत्यक्ष फाईदा पुर्नउत्थानबादीहरुलाई मिलेको छ । अहिले सडकमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको बिरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला रुपमा नारावाजी भइरहेको छ ।
यो अवस्था आउनुको दोषी अरु कोही होइनन । बर्तमान सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नै यसका जिम्मेवार पात्र हुन भन्दा त्यति फरक नपर्ला । उहिले उनीहरु दिनहुँ घर झगडामा व्यस्त र मस्त छन । जसका कारण यो अवस्था आएको हो उनीहरुले नै बर्तमानको निकास पनि दिन सक्नुपर्दछ भन्ने आवाजहरु बाहिर प्रकट भइरहेका छन ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेकपा इतिहासकै संकटको अवस्थामा पुगेको बताएका छन् । आजको स्थायी समिति वैठकमा अनुपस्थित अध्यक्ष ओलीले सदस्यहरुलाई पत्र लेख्दै अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको नेकपा आज इतिहासकै गम्भीर सङ्कटमा पुगेको भन्दै चिन्ता व्यक्त रेका छन् । उनले यो सङ्कट कुनै बाह्य कारणले नभई महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको आरोप लगाएका छन् । यो संकटको समाधानका लागि स्थायी कमिटीका सदस्यहरुको विवेकमाथि आफूलाई विश्वास रहेको पनि अध्यक्षी ओलीले उल्लेख गरका छन् ।
आफूले पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको स्मरण गराउँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित सङ्कटले सकारात्मक निकास पाओस् भन्ने प्रयास आफ्नो रहेको पत्रमा उल्लेख गरेका छन् ।
बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएको सो पत्रमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसक्ने भएकाले आफू नआएको जानकारी समेत गगराएका छन् ।
यस्तो छ अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यहरुलाई पठाएको पत्र
स्थायी कमिटीका प्रिय कमरेडहरु,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८ गते अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले ‘प्रस्ताव’का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नुभएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ।
पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छ। पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।
तर उक्त अभियोग पत्रसहित यसबीचका सबै पत्राचार र दस्तावेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु। परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैँभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु।
कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्नसक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बिर मात्रै मेरो मनमा अंकित थियो। हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय ग¥यौँ र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय ग¥यौँ। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ । त्यसैअनुरुपका संरचना निर्माण गरिए।
तर मलाई थाहा थिएन, खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छ। आज पनि म दोहोऱ्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्दछ।
सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तर्निहित हुन्छ भन्ने म ठान्छु। अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गम्भीर सङ्कटमा छ। यो सङ्कट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ। मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु। तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ।
मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ। गत भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनुभएको थियो । आशा छ, कमरेडहरुले यस पटक पनि व्यक्तिविशेषका स्वार्थका लागि आन्दोलनकै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।
हार्दिक अभिवादनसहित,
केपी शर्मा ओली
अध्यक्ष एवं प्रधानमन्त्री
२०७७ मङ्सिर २१