गुल्मीको राङबासमा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक प्रशिक्षण दिईयो
यतिबेला लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान सञ्चालन भईरहेको छ । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । लैङ्गिक हिंसाको अन्त्यका लागि गुल्मी जिल्लामा पनि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जिल्लाकै सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकाले पनि वडा–वडामा पुगेर प्रत्येक वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरि मनाउँदै आईरहेको छ ।
यस वर्ष ‘‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको प्रतिवद्धता’’ भन्ने मूल नाराका साथ रेसुङ्गा नगरपालिका नगरकार्यपालिका तथा समाज कल्याण शाखा तम्घास गुल्मीको आयोजनामा मंगलबार रेसुङ्गा नगरपालिका वडा नम्बर एघार राङबासमा सचेतनामूलक कार्यक्रम गरिएको छ । रेसुङ्गा नगरपालिका उप–प्रमुख सिता भण्डारीले स्थानीयतहमा जननिर्वाचित भएर जनप्रतिनिधि आइसकेपछि जिल्लामा केन्द्रित गरिने कार्यक्रमलाई अहिले वडा–वडामा पु¥र्याई सचेतना अभिवृद्धि गरेको दाबी गर्नुभयो । विस्तारै अहिले लैङ्गिक हिंसा विरुद्ध सचेतना वृद्धि हुँदै गएको उप–प्रमुख भण्डारीले बताउनुभयो ।
यस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरणका लागि सहयोग पु¥र्याउने भण्डारीले बताउनुभएको छ । ‘‘महिलाहरु हिंसामा परेपछि उपचार खोज्न कानुनी ढोका ढकढकाउनुपर्छ । प्रत्यक्ष सम्पर्क हुने नजिकको वडा कार्यालय हो । पीडितलाई न्याय दिलाउनु जनप्रतिनिधिको कर्तव्य हो ।’’ प्रमुख अतिथी समेत रहनुभएकी उप–प्रमुख भण्डारीले भन्नुभयो । आर्थिक रुपमा पनि कमजोर हुने भएकाले आयआर्जनका कार्यक्रमहरुलाई पनि महिलाहरुले जोड्नुपर्ने बताउनुभयो । आर्थिक रुपमा पुरुषको भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफुसँग भएको सिप र इच्छालाई व्यक्त गर्न सक्नु पर्ने उहाँको भनाई छ ।
‘‘हिंसा घरभित्रबाट हुन्छ । हामी घरेलु हिंसा चुपचाप सहन्छौँ । यसले पिडक उत्साही बन्छ ।’’उहाँले भन्नुभयो ‘‘हामीले आफ्ना कुराहरुलाई नत घरमा व्यक्त गर्न सक्छौँ । न समाजमा गर्न सक्छौँ । त्यसैले हामी पछाडी परेको छौँ ।’’ समाज परिवर्तन गर्नको लागि महिलाहरु आफ्नै घरबाट अन्यायको विरुद्धमा अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।
सामाजिक विकास समितिका संयोजक तथा रेसुङ्गा नगरपालिका वडा नमबर–३ का वडाअध्यक्ष थम्मन बहादुर केसीले नेपाली समाज सामन्ती र पृत्रिसत्तात्मक सोँच भएको कारणले पनि पुरुषबाट महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो । पछिल्लो समय महिलहरु पनि सचेत बन्दै गएकाले हिंसाका घटनाहरु न्यून हुँदै गएपनि महिला माथि हुने जघन्य प्रकृतिका घटनाहरु भने बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय केही पुरुषहरु पनि हिंसाका सिकार भईरहेका उल्लेख गर्नुभयो ।
हिंसाको अन्त्यका लागि पहिलो प्राथमिकता कानून तथा संविधानमा उल्लेख भएका हकअधिकारका बिषयमा जानकारी गराउन आवश्यक रहेको बतानुभयो । ‘‘कानूनका बारेमा जानकारी छैन् । जानेका छैनौँ भनेर अपराध गरे भनेर छुट छैन् ।’’ केसीले भन्नुभयो । सहभागिहरुलाई कानूनका बिषयमा अलि बेसि अध्ययनका लागि पनि आग्रह गर्नुभयो । त्यस वडाका वडाअध्यक्ष खुम बहादुर रानाले कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै व्यक्ति आफै सचेत बन्दै गए लैङ्गिक हिंसाको अन्त्य हुने बताउनुभयो ।
रेसुङ्गा नगरपालिका कार्यापालिका सदस्यहरु देवी कुँवर, सावित्रा भण्डारीले लैङ्गिक हिंसाको अन्त्यका लागि सबै जागरुक हुन आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर गौतम तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर कुँवरले लैङ्गिक हिंसाको अन्त्यका लागि समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन रेसुङ्गा नगरपालिका महिला विकास शाखा प्रमुख कल्पना पाण्डेले गर्नुभएको थियो ।
त्यस अवसरमा सहभागिहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्नका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु माक्स, स्यानिटाइजर लगायत सामग्री वितरण समेत गरिएका थियो । सहभागीहरुले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । साथै कार्यक्रममा सहभागिहरुले ‘‘म हिंसा गदिँन, म हिंसा सहन्नँ र देखेमा प्रतिकार गर्छु आवाज उठाउँछु । ’’ भनेर हस्ताक्षर गरि प्रतिवद्धता समेत जनाएका थिए ।