गुल्मीमा सामी परियोजना सञ्चालन हुने
÷ गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन परियोजना (सामी) अब सञ्चालन हुने भएको छ । यस अघि नेपाली काँग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।
यस अघि बिना सूचना स्थानीय तहले परियोजनामा कर्मचारी भर्ना गर्न थालेको भन्दै कांग्रेसको विरोधले कर्मचारी छनौट परीक्षा रोकिएको थियो । नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालित सुरक्षित आप्रावसन परियोजना (सामी) गुल्मीमा गत आर्थिक वर्षको साउन महिनादेखि सञ्चालन हुनु पर्ने थियो । तर आपसी विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।
परियोजना खारेजिकै अवस्थामा पुगेपछि परियोजनाका केन्द्रीय निर्देशक समितिका सदस्य तथा नेपाल नगरपालिका महासंघका महासचिव एवम् धादिङ जिल्लाको निलकण्ठ्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना गुल्मी आएर सहजीकरण गर्नुभएको हो । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तथा परियोजना लागू हुने स्थानियतहका प्रमुखहरु लगायत, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागितामा विवाद समाधान गरिएको हो ।
परियोजनाको निम्ती जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिका छनोट भएका थिए । तर, नेपाली कांग्रेसले परियोजनामा मनपरी भएको तथा सूचना लुकाएको आरोप लगाउदै योजनाको विरोध गर्दै नगरपालिका घेराउसम्म गरेको थियो । अब थप दुई स्थानियतहमा पनि लागू गर्न माग गर्ने निर्णय भएसँगै विवाद साम्य भएको हो । अब गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि यो परियोजना सञ्चालन गरिने भएको छ ।
बिहिबार सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियन गुल्मीले गरेको पत्रकार सम्मेलनमा नेपाल नगरपालिका महासंघका महासचिव भिम प्रसाद ढुङगाना तथा रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले सामी परियोजना यस जिल्लामा सञ्चालन गरिने बताउनुभएको थियो ।
रेसुङ्गा नगरपालिकाका मेयर भुसालले पुराना आवेदन दिएका सबै यथावत नै रहने र थप एक हप्ता आवेदन आव्हान गरि परियोजनाको कर्मचारी छनौट प्रक्रियालाई अगाडि बढाईने बताउनुभयो । साथै मेयर भुसालले सहजीकरणका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले देश भरी रहेका स्थानीयतहरुले गरिरहेका गतिविधिका बिषयमा जिज्ञाशा समेत राखेका थिए । जिज्ञाशाहरुलाई सम्बोधन गर्दै नेपाल नगरपालिका महासंघका महासचिव ढुङगानाले संघीय सरकारले स्थानियतहका हक अधिकार कटौती गरिहेको बताउनुभयो ।
मेयर ढुङ्गनाले संघीय व्यवस्थालाई बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथामका लागि पनि स्थानीयतहरुले महत्वपूर्ण भूमिका निभाईरहेको समेत मेयर ढुंगानाको भनाई छ ।
पत्रकार सम्मेलनमा इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु प्रसाद बलाल, पूर्व सभापति सुरेशचन्द्र भुसाल, रेसुङ्गा नगरपालिकाका सल्लाहकार कृष्ण प्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी, प्रेस युनियन गुल्मीका केन्द्रिय प्रतिनिधि जनार्दन घिमिरे, प्रेस संगठन गुल्मीका सहसंयोजक तिलाचन पाण्डे लगायत जिल्ला स्थित सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रेस युनियन गुल्मीका सभापति रेशम कुवँरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव रमेश विकले गर्नुभएको थियो । नेपाल प्रेस युनियन गुल्मीका सभापति रेशम कुवँरको सभापतित्व र सचिव रमेश विक संचालन गर्नुभएको कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी,नेपाली कांग्रेसका उपसभापति बिष्णु प्रसाद र रेशम कुँवरले सामी परियोजना र स्थानीय तहसग पत्रकारिताको सम्बन्धका बारेमा आ–आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।