पहिला सरकार गिराउन लागेकाहरु नै अहिले पनि लागेका छन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि आफ्नो नेतृत्वको सरकार गिराउन लागेकाहरु नै अहिले पनि सरकार गिराउन लागेको बताएका छन् । पहिला नाकाबन्दीविरुद्ध अडित भएका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारगिराएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भूमि समेटेर नक्सा जारी गरेका कारण हटाउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले सरकारले गरेका राम्रा कामको पक्षमा दाहाल, नेपालहरु कहिल्यै नबोलेको र राष्ट्रको पक्षमा पनि नबोलेको आरोप लगाएका छन् ।
ओलीले भनेका छन् ‘पहिला पनि संविधान बनाएबापत्, नाकाबन्दीको सामना गरेबापत्, एउटा देशसँग मात्रै भएकोमा अर्को देशमा समेत समुन्द्र पुग्ने ढोका खोलेबापत मलाई हटाउन यिनीहरू नै लागेका थिए। अहिले पनि कुनातिर गएर साउती मारेर झुत्तो बनाएर लागेका छन् ।’
ओलीले आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरालाई तमासाको संज्ञा दिएका छन् । उनले भनेका छन् ‘पहिले प्रस्ताव अरे, अहिले त अध्यक्षमाथि स्पष्टिकरण अरे, प्रथम अध्यक्षलाई स्पष्टीकरण अरे, यो कुन तमासा हो ? अहिले त पार्टीबाटै निकाले अरे भन्ने सुन्दैछु। कसलै लहडमा निकाल्यो अरे। चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो ।’
यसैवीच प्रचण्ड–नेपाल समूहको आजै बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। आन्दोलन परिचालन समितिको संयोजकमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ । श्रेष्ठको संयोजकत्वमा हुने आन्दोलनप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् “न जनयुद्ध लडेको, न जनआन्दोलनमा छ। उसकै संयोजकत्वमा आन्दोलन अरे। प्रचण्ड र बादल खुला रहँदा पनि नारायणकाजी पर्दाभित्रबाट अन्तर्वार्ता दिन्थे, उसकै नेतृत्वमा आन्दोलन अरे । खुट्टी हेर्दै चाल पाइयो ।’
आन्दोलनको औचित्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले चुनावमा जान कसैले पनि डराउन नहुने बताएका छन् । मध्यावधि चुनाव घोषणा गर्दा यो व्यवस्था नै अप्ठ्यारोमा पर्यो भन्नु गलत भएको उनले बताएका छन् ।