कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको एक नेताले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेपछि कांग्रेसले असंवैधानिक भन्दै आएको छ । मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ। वैठकमा कांग्रेसभित्र दुई मत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्ष प्रतिनिधिसभा भंगबारे सर्वोच्च अदालतमा मुद्दा रहेकाले फैसला गर्नुपर्ने पक्षमा छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तत्काल आन्दोलनमा जानु पर्ने बताउँदै आएको छ । पौडेल समूहले आज केन्द्रीय समिति अघि छलफल गरेर आन्दोलनमा जानका लागि सभापति देउवालाई दवाव दिने निर्णय गरेका थिए ।