प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको जानकारी आयोगलाई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षले विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको छ । आज बसेको ओली पक्षको केन्द्रीय कमिटी वैठकले एक जना अध्यक्षले प्रमाणीकरण गरे पुग्ने व्यवस्था समेत संशोधनमार्फत् गरेको छ । सो निर्णयबारे नेकपाले निर्वाचन आयोगलाई जानकारी गराइसकेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् ।
बुधबार प्रचण्ड र माधव नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको जानकारी आयोगलाई गराएको थियो ।
ओली पक्षले थप गरिएका ५ सय ५६ जना केन्द्रीय सदस्यको सूची समेत निर्वाचन आयोगमा पठाएको छ। ओली पक्षले केन्द्रीय समिति ११९९ बनाउने निर्णय गरेको थियो।
त्यस्तै ओली पक्षले विधान संशोधनमा पार्टीको महाधिवेशन यसअघि २ वर्षभित्र गर्ने भन्ने ठाउँमा ४ वर्षभित्र गर्ने भन्ने शब्द राखेको छ।
त्यस्तै पार्टी प्रवक्तामा ज्ञवालीलाई तोकिएको जानकारी नेकपाले आयोगलाई जानकारी गराएको छ ।