मन्त्रिपरिषद् पुनर्गठन, कोको भएन नयाँ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको जिम्मेवारी पनि फेरवदल गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आज आठजना मन्त्री र एकजना राजमन्त्री नयाँ नियुक्त गर्नु भएको छ भने ६ जना मन्त्रीको मन्त्रालय हेरफेर गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई पुनर्गठनमा हटाउनु भएको छ ।
आज थपिएका मन्त्रीहरुमा टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाई), प्रभु साह (शहरी विकास), गौरीशंकर चौधरी (श्रम तथा रोजगार), गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), मणि थापा (खानेपानी तथा सरसफाई), दाबा लामा (युवा तथा खेलकूद), प्रेम आले (वन तथा वातावरण), जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री) छन् ।
त्यस्तै मन्त्रीहरुको जिम्मेवारी पनि हेरफेर भएको छ । हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या), कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि), भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन), पदमा अर्याल (कृषि तथा पशुपंक्षी), शिवमाया तुम्बाहाङफे (भूमि सुधार), लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला) को जिम्मेवारी दिइएको छ ।
त्रिपाठी सामान्य प्रशासन मन्त्री, श्रेष्ठ शहरी विकास, ढकाल स्वास्थ्य, अर्याल भूमिसुधार, तुम्बाहाङफे कानुन र लिलानाथ महिला बालबालिका मन्त्रालयका जिम्मेवारीमा थिए ।