जनसहभागितामा सडक कालोपत्रे

पाल्पा÷ जनसहभागितामा माथागढी गाँउपालिकाभित्रका सडकहरु कालोपत्रे भएका छन् । योजनाको दिगोपना र स्थानीय जनतामा अपनत्व ग्रहण गराउने उद्देश्यले जनसहभागितामा सडकको कालोपत्रे र पक्की ढलान गरी सडकको स्तर उन्नती गरिएको हो ।
सडक निर्माणसँगै स्तर उन्नतीको कार्य गरी स्थानीय जनतालाई आवत जावत गर्न सहज तुल्याएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । गाउँपालिका भित्रको मुख्य व्यापारीक केन्द्रका रुपमा रहेको कसेनीको सराई बजारदेखि एक्लेवर जोड्ने सडकमा स्थानीय जनताको सहभागीतामा कालोपत्रे गरिएको वडा अध्यक्ष दीपक थापाले जानकारी दिए ।
सडकको स्तर उन्नती नहँुदा वर्षेनी मर्मतका नाममा ठूलो धनराशी खर्चिनु पर्ने र वर्षाद्मा हिलो, हिउँदमा धुलोको सामना गर्नु पर्ने समस्याबाट सदाका लागि मुक्त भएको स्थानीय बासीन्दाहरु बताउँछन् । सडक कालोपत्रेका लागि गाउँपालिकाको ५० लाख स्थानीय जनताको २२ लाख गरी ७२ लाख रुपैँया खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी गाउँपालिकाकै दोस्रो व्यापारीक केन्द्रका रुपमा रहेको खहरे बजार क्षेत्रमा पर्ने खहरे–एक्लेवर जोडीने सडक खण्डमा गाउँपालिकाको १९ लाख स्थानीय जनताको ६ लाख गरी २५ लाखमा पाँच सय मिटर सडक ढलान गरी स्तर उन्नती गरिएको हो ।
विकास निर्माणमा जनताको सहभागीता, सम्पन्न योजनाको दिगोपना र जनतामा योजनाप्रति अपनत्व ग्रहण गराउने उद्देश्यले परीक्षणका लागि गरिएको कार्य सफल र फलदायी भएकोले आगामी दिनमा सडकको स्तर उन्नती मात्र नभई अन्य क्षेत्रमा पनि जनसहभागीतालाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए ।
गाउँपालिकाबाट आर्थिक वर्ष ०७४÷०७५ को अवधिमा सञ्चालित योजनाबाट सडकको स्तर उन्नती गरिएको हो । यस वर्ष पनि बाँकी रहेको सडकलाई पुरा गरीने बताइएको छ । गाउँपालिकाले नयाँ सडक बनाउनु भन्दा भएका सडकहरुको स्तर उन्नती गरी बाह्रै महिना सवारीका साधन सहज रुपमा आवत जावत गर्न मिल्ने गरी कार्य गर्ने र सडक निर्माण सम्बन्धी नयाँ सडक रणनीतिक योजना गाउँपालिकाले बनाएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।