नेपाल भ्रमणमा आएको चिनियाँ टोली राजनीतिक भेटघाटमा

काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ टोली राष्ट्रपति कार्यालय पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।
राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
नेपालको संसद विघटनसँगै नेकपामा आएको फुटप्रति चिन्ता गर्दै चिनियाँ टोली नेपाल आएको हुन सक्ने कूटनीतिज्ञहरुले बताएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई एकता गराउनमा महत्वपूर्ण भूमिका खेलेको चीनले अहिले पनि एकता कायम रहोस् भन्ने चाहना राखेको देखिन्छ ।
यसैवीच चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आएका हुन् ।
गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन् । यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन् ।
विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा सिनियर हुन् । अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको गत वर्ष भएको भ्रमणको तयारीको क्रममा नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विभागका मन्त्री र उपमन्त्रीहरूको पदीय मर्यादाक्रम, सुविधा र जिम्मेवारी राज्यपरिषदका विदेशमन्त्री र उपमन्त्रीहरूको बराबर हुन्छ ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमण लगत्तै नेपालमा भएका संसद विघटन र नेकपा विभाजनका घटनालाई बेइजिङले विभिन्न हिसावले विश्लेषण गरिरहेको देखिन्छ । उनको चार दिने यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आएका थिए ।
विगतमा पनि नेकपाभित्र विवाद चर्किदा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुलाई भेटेर एकता जोगाउन दवाव दिदै आएकी थिइन् । उनले सरकारको नेतृत्व परिवर्तन गरेर भएपनि पार्टीको एकता जोगाउन नेताहरुलाई सल्लाह दिएकी थिइन् ।
प्रतिनिधि सभा विघटन सँगै नेकपा फुटिसकेको छ । दुई समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटि वैठक गर्नुका साथै एकअर्कालाई जिम्मेवारीबाट हटाइसकेको छन् । अब निर्वाचन आयोगबाट कुन पक्षले आधिकारिता पाउँछ भन्न मात्र हो ।
प्रतिनिधिभा विघटन हुनुका साथै नेकपाभित्र चरम विवाद भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।