संसद भंगविरुद्ध कांग्रेसको देशभर प्रदर्शना
अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्न सभापति देउवाको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनप्रति विरोध गर्दै नेपाली कांग्रेसले आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
भक्तपुर क्षेत्र नं २ ले गरेको कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले ओलीको असंवैधानिक कदमको विरुद्धमा देशभर नै विरोध प्रदर्शन गरिरहेको वताउँदै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर अहिलेको विरोध प्रदर्शन समेतको समीक्षा गरेर नयाँ निर्णय गर्ने बताएका छतन् ।
सरकारले यही पुस ५ मा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ निर्वाचन मिति घोषणा गरेको थियो ।
सभापति देउवाले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भए पनि सो बारे अदालतमा मुद्दा विचाराधिन रहेकाले प्रभावित हुने गतिविधि कांग्रेसले नगर्ने पनि बताएका छन् ।
अदालत स्वतन्त्र निकाय भएकोले त्यसको निर्णय कुरिरहेको बताउँदै देउवाले भने “अदालतलाई हामीले सबैभन्दा स्वतन्त्र निकाय मानेका छौँ। नेपाली कांग्रेस न्यायालय मान्ने पार्टी हो, पक्षमा होस् वा विपक्षमा, न्यायालयबाट आउने निर्णय हामी मान्नेछौँ ।”
पञ्चायतको बेला पनि स्वतन्त्र रहेको न्यायालयलाई दुई तिहाइको कम्युनिष्ट सरकारले प्रभावित पार्न खोजे पनि न्यायालयले आफ्नो स्वतन्त्र छविलाई कायम राखेको बताए ।
संसद् विघटनबारेको मुद्दा अदालतको स्वविवेकमा होस् भन्दै सभापति देउवाले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्न नहुने पनि बताएका छन् ।