प्रचण्डले रत्नपार्कमा उभिएर म कम्युनिस्ट हुन गल्ति गरें भन्न बाँकी छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसदीय प्रणालीको अभ्यास अनुसार प्रचण्ड–माधव समूहले संसदमा अविश्वास प्रस्ताव ल्याउने आँट नगर्दा नेपाली जनताले संसद विघटनको सजाय भोग्नु परेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज आयोजना गरेको विरोध प्रर्दशन सभामा बोल्दै थापाले ३ वर्षअघि भएको २ पार्टीको अपवित्र गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको बताए ।
विद्यमान समस्याको कारण प्रधानमन्त्री बन्न पाइन्छ भन्ने नेकपा अध्यक्ष प्रचण्डको आकांक्षाले पनि काम गरेको वताउँदै थापाले प्रधानमन्त्रीको पहिलो कार्यकालमा छुनै नपर्ने अंगमा प्रहार गरेका प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै सुम्पिदा समस्या आएको बताए। प्रधानमन्त्रीका प्रस्तावमा समर्थन गर्न एक पछि अर्को अडान छोड्दै जानु आफ्नो गल्ती भएको प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै थापाले भने ‘प्रचण्डले रत्नपार्कमा उभिएर म कम्युनिस्ट हुन गल्ति गरें भन्न बाँकी छ।’