प्रचण्डले खोजे विदेशी हस्तक्षेप !

आन्तरिक मामिला आफैँ समाधान गछौं : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले संसद पुनस्र्थापनाका लागि गरिरहेको आन्दोलनलाई भारत, अमेरिका, युरोपलगायतका प्रजातान्त्रिक राष्ट्रले नैतिक समर्थन गरुन भन्ने धारणा व्यक्त गरेका छन् ।
केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले विशेषतः आफूहरुको आन्दोलनलाई भारतले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले आफ्नो आन्दोलनलाई नैतिक समर्थन समेत नगरेको उनले खुलासा गरेका छन् । दाहालको अभिव्यक्तिले नेपाली राजनीतिमा वाह्य हस्तक्षेपलाई आमन्त्रण गरेको भन्दै उनको आलोचना भएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई नै निरन्तरता दिने भारतको मनसाय रहेको बुझिन्छ भन्दै उनले चीन र भारतले ओलीलाई नै समर्थन गरेको आसय व्यक्त गरेका छन् । प्रजातान्त्रिक आन्दोलनमा विगतमा विभिन्न राष्ट्रले सहयोग गरेको विशेषतः १२ वुँदे सम्झौता र माओवादी विद्रोहलाई समेत भारतको समर्थन रहेको उनको आसय पाइन्छ । तर पछिल्ला दिनहरुमा विकसित घटनाक्रममा चीन र भारत मात्र होइन, युरोपेली राष्ट्र र अमेरिका समेत मौन बसेकोमा दाहालले चित्त दुखाएका छन् । यसले पुष्पकमल दाहाल र माधव नेपालको नेतृत्वमा भइरहेको आन्दोलनमा विदेशीले खुलेर सहयोग गरेका छैनन् भन्ने देखिन्छ ।
चीन सरकारले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ । गत सोमबार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुई देशबीच आपसी हित, महामारी नियन्त्रण, विकास र साझेदारीलगायत विषयमा छलफल तथा राजनीतिक भ्रमण आदानप्रदानका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको बताएका छन् । उनले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने जनाएका छन् ।
नेपालको पछिल्लो घटनाक्रमलाई लिएर चीन र भारतका विभिन्न नेता, सचारमाध्यम र विश्लेषकहरुले अनेकौ प्रतिक्रिया जनाएपनि त्यहाँका सररकारले नेपालको आन्तरिक मामिला भनेका छन् । कैयन दिनदेखि मौन बसेको अमेरिकाले पनि केही दिनअघि नेपालको घटनाबारे टिप्पणी गरेको छ । तर काठमाडौंस्थित अमेरिकी दूतावासले कडा प्रतिक्रिया जनाउने अपेक्षा ओलीविरुद्ध आन्दोलनमा उत्रिएकाहरुले गरेपनि अमेरिकाले संसद विघटनको घटनालाई ‘आन्तरिक मामिला’ भनेको छ ।
भारतीय विदेश मन्त्रलायका प्रवक्ता अनुराग श्रीवास्तवले पनि केही दिनअघि नेपालको घटनालाई आन्तरिक मामिला भनेका थिए । कतिपय विश्लेषकले चीन, भारत र अमेरिकाले वर्तमान सरकारप्रति कडा प्रतिक्रिया नजनाउनुलाई दाहालले भने झै ओलीप्रतिको समर्थनका रुपमा लिइएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा आएको टोलीले नेपालको प्रतिनिधिसभा विघटन र नेकपाको विवादबारे जिज्ञासा राखेका थिए । सो क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले ‘आन्तरिक मामिलालाई हामी आफै व्यवस्थापन गछौं’ भन्ने अभिव्यक्ति दिएको वालुवाटार स्रोतले जनाएको छ । ओलीको सो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानका कित्तामा उभिएकाहरुलाई सकारात्मक सन्देश दिएको पाइन्छ भने कुनै पनि राष्ट्रबाट हुने हस्तक्षेप स्वीकार्य छैन भन्ने सन्देश प्रवाह भएको छ ।
सरकारले राष्ट्रिय मूल नीति नै बनाएर आर्थिक सहायता लगायतका विभिन्न परियोजना एवं वैदेशिक सहायता सम्वन्धी नीतिबारे पुनर्विचार गर्न आवश्यक रहेको कूटनीतिज्ञहरु बताउँछन् । त्यसो भएको खण्डमा नेपालको राजनीतिलाई ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोज्ने अन्तर्राष्ट्रिय कूटनीतिको दुष्प्रभाव रोक्न सकिने उनीहरुको तर्क छ ।