नेताहरुको झगडा जनतालाई लुतो न कन्याई

काठमाडौं । सत्तारुढ दल भित्रको आन्तरिक घर झगडाकै कारण काम गर्न नपाएपछि प्रतिनिधि सभा भंग गर्नुपरेको तर्क प्रधानमन्त्री ओलीले अगाडि सार्दै आएका छन । त्यसो भए खेल मैदानमा खेल खेल्दा हारियो भनेर मैदान भत्काउन मिल्छ त ? त्यसकारण प्रधानमन्त्री ओलीले अगाडि सार्ने गरेको तर्कले अहिले कुनै राजनीतिक अर्थ नराख्ने राजनीतिका जानकारहरुको बुझाई छ ।
प्रधानमन्त्री ओलीको तर्क अनुसार घर परिवारमा झगडा परर्यो भन्दैमा घरमा आगो लगाएर खरानीको टिका लगाउन मिल्छ त ? होइन भने पाँच बर्षको लागि भनेर नेपाली जनताले चुनेर पठाएका प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधि सभालाई बिघटन केका लागि ? नेपाली जनता यही प्रश्नको उत्तर प्रधानमन्त्री ओलीसँग खोजिरहेका छन ।
अहिले नेकपा बिभाजनको संघारमा रहेको र प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्री ओलीको असंबैधानिक कदमका बिरुद्ध राजनीतिक दलहरु सडक आन्दोलनमा उत्रिरहेका छन । यो आन्दोलन केका लागि भन्ने प्रश्नहरु पनि उठिरहेका छन । नेकपाको आन्तरिक झगडालाई व्यवस्थापन गर्न नसक्दाको परिणाम नेपाली जनताले भोग्नु परेको छ ।
नेकपालगायत अन्य राजनीतिक दलका कार्यकता अहिले जीवनमरणको लडाईं भन्दै सरकार बिरुद्ध सडक आन्दोलन गरिरहेका छन । यसबाट सर्वसाधरण नागरिकले नराम्ररी दुःख पाइरहेका छन । सर्वसाधरण नागरिकलाई राजनीतिक दलहरुले गरिरहेको आन्दोलन ‘लुतो न कन्याई’ भएको चर्चा चुलिएको छ ।