बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीको तेह्रौँ साधारण सभामा दुई सहकारी सम्मानित
बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीद्वारा दुई वटा बचत तथा ऋण सहकारी संस्थाहरु सम्मानित भएका छन् । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन बचत तथा ऋण सहकारी संघ लिमिटेड रेसुङ्गा नगरपालिका–१ तम्घास गुल्मीले शनिबार आफ्नो १३ औँ वार्षिक साधारणको अवसरमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
स्वावलम्बन कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) रेसुङ्गा नगरपालिका–४ सेउघा तथा मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) गुल्मी दरबार गाउँपालिका–४ बिरबासलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको थियो । यस्तै बचत तथा ऋण सहकारी संघ लिमिटेडका निवर्तमान अध्यक्ष राधा पन्थीलाई पनि सम्मान गरिएको थियो । यस संस्थामा रही अहिलेको स्थानसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै पन्थीलाई सम्मान गरिएको थियो ।
सदरमुकाम तम्घासको एभरग्रिन पार्टी प्यालेसमा आयोजना गरिएको वार्षिक साधारण सभाको अवसरमा संघका सचिव श्यामलाल कुँवरले प्रस्तावित कार्यक्रमहरु सहितको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जसमा यस संघमा आवद्ध नभएका जिल्ला भरका सम्पूर्ण साकोसहरुलाई चरणवद्ध रुपमा सदस्यता प्रदान गरिदैँ लैजाने, केन्द्रिय बचत तथा ऋण सहकारी संघ र रेसुङ्गा नगरपालिकासँग समन्वय गरि विभिन्न तालिम÷गोष्ठी सञ्चालन गरिने उल्लेख गरिएको छ ।
साथै यस संघमा आवद्ध रहेका सम्पूर्ण साकोसहरुलाई ब्याजमा एकरुपता कायम गर्ने, विगतका वर्ष देखि गर्दै आएको प्रत्येक वर्ष दुई वटा सहकारी छनौट गरि पुरस्कार तथा सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिईने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
कोषाध्यक्ष गणेश श्रेष्ठले आर्थिक वर्ष २०७७÷०७८ को यस संघको वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय सहितको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शालिकराम पन्थीले प्रस्तुत गर्नुभएको थियो । पन्थीले यस बचत तथा ऋण सहकारी संघ लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ मा सम्पादन गरेका मुख्य–मुख्य कार्यहरुका बिषयमा समेत जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार यस संघको बैङ्क मौज्दात १८ लाख १ हजार ५२ रुपैँया १२ पैसा रहेको छ । शेयर पूँजी २ लाख २० हजार, सम्पत्ती तथा दायित्व २० लाख ७३ हजार ५ सय २० रुपैँया ७९ पैसा रहेको छ ।
खुद नाफा ४० हजार, ६ सय ६२ रुपैँया १८ पैसा, जगेडा कोष १ लाख २९ हजार ४ सय ७२ रुपैँया ६५ पैसा रहेको छ । संरक्षित पूँजी फिर्ता कोष ७ हजार ६२८ रुपैँया ६० पैसा तथा शेयर लाभाशं कोष १३ हजार ६३२ रुपैँया रहेको छ ।
यस संघ लिमिटेडमा २२ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । साधारण सभाको अवसरमा सचिव, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समिति संयोजकबाट प्रस्तुत गरिएको प्रतिवेदनलाई सर्वसहमत रुपमा पारित गरिएको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड गुल्मीका अध्यक्ष शेषकान्त गौतमले सहकारीमा राजनिति मिसाउन नहुने बताउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका गौतमले समाजमा रहेका गरिब, निमुखाहरुको साहारा सहकारीले दिने भएकाले गरिबी, अशिक्षाका बिरुद्ध लडिरहने सहयात्री समेत सहकारी भएको उल्लेख गर्नुभयो ।
उहाँले जिल्लामा रहेका बचत तथा ऋण सहकारीहरुको निगरानी यस संघ लिमिटेड मार्फत बढाउनुपर्ने बताउँदै भएका सहकारीहरुलाई व्यवस्थित बनाउन लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष श्याम कुमार पाण्डेले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विभिन्न सामाजिक गतिविधि ठप्प हुन पुगेको बताउनुभयो । जसका कारण सदस्यता विस्तार, विभिन्न तालिम सञ्चालन, सहकारी भ्रमण गर्ने, मर्ज गर्ने कार्यहरु सहज रुपमा सञ्चालन हुन नसकेको उल्लेख गर्नुभयो ।
सहकारीहरुको दोहोरो सदस्यताको समस्या, तरलता लगायतका बिषयमा नेफ्सकूनसँग सहकार्य भईरहेको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । यस जिल्लामा रहेका बचत तथा ऋण सहकारीहरुमा पनि कोभिड–१९ का कारण लगानीहरुका क्षेत्रमा समस्या भईरहेको जानकारी दिनुभयो । त्यस अवसरमा निवर्तमान अध्यक्ष राधा पन्थी, लेकाली स्वालम्वन बचत तथा ऋण सहकारी संस्ताका अध्यक्ष भुवन अर्याल तथा मिर्मिरे साकोसका व्यवस्थापक कृष्ण प्रसाद पौडेलले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव श्यामलाल कुँवरले गर्नुभएको थियो ।