आगलागी पीडितको सहारा बन्दै गुल्मी काँग्रेस, पीडितलाई आर्थिक सहयोग

नेपाली काँग्रेस गुल्मी आगलागी पीडितको सहारा बनेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहले सञ्चालन गरेको बाख्रा फार्ममा गत पुस २३ गते बिहिबार अज्ञात समुहले फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए ।

विदेशको मोहलाई त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै गाउँमा राजस्थानी, बोयर र जमुना पारीका उन्नत जातका बाख्रा र फार्म गरेर ७० लाखभन्दा बढी लगानी गर्नुभएको थियो ।

आफ्नो लगानीलाई नामजस्तै सौभाग्यमा रुपान्तरण गर्न नपाउँदै अज्ञात समुहबाट बाख्रा फाममा आगलागी हुँदा उहाँको सपना खरानीमा परिणत भयो । आगलागीका कारण फार्ममा रहेका २५ बाख्रा गुमाउनु प¥र्यो । आगलागीले फर्म नष्ट गरी छिनभरमै लाखौँको क्षति भयो ।

आगलागीका कारण विक्षिप्त बनेका शाहको कृषि प्रतिको उर्जालाई जोगाई राख्न तथा केही भए पनि राहत पुर्याउने उद्देश्यले नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । शनिबार आगलागी पीडित शाहलाई केही भए पनि राहत पुर्याउने उद्देश्यले नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिकाले रु १ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर–२ का क्षेत्रिय सभापति भगतसिंह खड्काको उपस्थितीमा, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्री, नेपाली काँग्रेस चन्द्रकोट गाउँपालिका सभापति भिमलाल भण्डारी लगायतले रु १ लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै क्षेत्रिय सभापति खड्काले कृषिमा होमिएका शाहलाई उर्जा कम नहोस भन्ने उद्देश्यले काँग्रेसले आर्थिक सहयोग गरेको बताउनुभयो ।

अगाडी बढ्दै गरेको युवाको जोस, जागँरलाई निरुत्साहित पार्ने अपराधिक काम गर्ने जो कोही भए पनि कानुनी कठघारामा उभ्याउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । त्यस वडाका वडाध्यक्ष किरण शाहीले षडयन्त्रपूर्वक पेट्रोल छर्किएर आगलागी भएकाले सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।