भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने
काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारतीय राजदूतावासद्वारा आज काठमाडौँमा आयोजित संयुक्त पत्रकार सम्मेलन सो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट आउने खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापन तथा सरसफाइमा कार्यरत कर्मचारी लगायतलाई उपलब्ध गराउने र त्यसपछि खोप अभियान सञ्चालन गरिने बताएका छन् ।
सरकारले कूल जनसङ्ख्याको करिब ७२ प्रतिशतलाई खोपयोग्य जनसङ्ख्याको रूपमा पहिचान गरी आवश्यक खोप खरिद गरिने र खोप लगायने अभियान सञ्चालन हुने मन्त्री त्रिपाठीले बताएका छन् ।
पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको लडाई जित्नका लागि सबै राष्ट्रहरूबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन् ।
कोरोना महामारीको सुरुवात देखिनै नेपाल र भारतबीच आवश्यक सहयोग र सहकार्य हुँदै आएको र महामारीको अन्त्यसम्म सहकार्य जारी रहने उनले बताएका छन् ।