कांग्रेसले बिहीबार संसद विघटनविरुद्ध वडाहरुमा प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसद विघटनको विरोधमा बिहीबार देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसका विरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।
बिहीबार हुने विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपील गर्नु भएको छ । विज्ञप्तिमार्फत अपील गर्दै सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्नु भएको छ ।