वास्तविक जनसागर माघ २३ गते देखाइदिन्छौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूहरुले माघ २३ गते देखाइदिने बताएका छन् ।
उनीहरुले अलिअलि मान्छे भेला गरेछन् भन्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिएका छन् ।
प्रचण्ड–नेपालहरुले देशभरबाट केही हजार कार्यकर्ता जम्मा गरेको बउँदै ओलीले भने ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन्, खुट्टी हेरेर चाल पाइयो ।’
आज कार्की ब्याङ्क्वेटमा आयोजित पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने वताए । उनले सबैलाई निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौँ उपत्यकामा बृहत् प्रदर्शन गरेको हो ।