त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटमा : अध्यक्ष थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताउँदै अविलम्व सच्याउनु पर्ने बताएका छन् ।
मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लागेकोले वताउँदै अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
मुलुकको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने बताउँदै अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने पनि बताए । राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको वताउँदै अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने पनि स्पष्ट गरे ।
राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको वताउँदै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनेपर्ने तर्क गरेका छन् ।
भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको वताउँदै अध्यक्ष थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको पनि बताए ।