कथा – प्रतिध्वनित

बुजुम्बुरा विश्वविद्यालयको किरिरि क्याम्पस क्षेत्रमा पुग्दा कीर्तिपुर क्याम्पस गएजस्तै लाग्थ्यो । प्राध्यापक अगस्टिन मलाई पर्खिरहेका थिए । अगस्टिनकी छोरी मार्था मेरो पथप्रदर्शक थिइन । उनले विश्वविद्यालयका प्राध्यापकहरूसँग परिचय गराइन् ।
‘हामी युद्धले थाक्यौँ । हामीलाई विदेशीले लडाएका थिए । आपसमा जुध्यौँ, मारामार ग¥यौँ र लाखौँको रगत बगायौँ । हार्ने त आखिर जनता नै रहेछन् ।’ अग्लो डाँडामा रहेको विश्वविद्यालय भवनबाट अलि टाढाको बुजुम्बुरा सहरतिर हेर्दै अगस्टिनले पीडा सुनाए ।
चाउरी पर्न थालेकी प्राध्यापक क्यारोलिनले थपिन्– ‘तपाईंहरूको देशमा पनि धेरै मानिस द्वन्द्वमा हताहत भए, होइन ?’
‘हो, बीस हजार जति मारिए । लाखौँले दुःख पाए । अहिले पनि थुप्रै किशोरकिशोरी, युवकयुवती र प्रौढहरू मनोवैज्ञानिक कारणले पीडित छन् । तपाईंहरूलाई जस्तै हामीलाई पनि द्वन्द्वमा होम्ने काम विदेशीले नै गरेका थिए ।’ मैले नेपालको यथार्थ बताएँ ।
कफी पिउँदै अनेकौँ प्रसंगहरू कोट्याए प्राध्यापकहरूले । कहिलेकाहीँ उनीहरू स्थानीय किरून्डी भाषामा कुरा गर्थे र मार्था मलाई त्यसको अर्थ बुझाउँथिन् ।
‘कहाँ कहाँ घुम्नु भो बुरून्डीमा ?’
युवा प्राध्यापक जोसेफले सोधे ।
‘धेरै घुम्न पाइएको छैन । एनगोजी, कायन्जा, बुबान्जा र किरून्डो पुगेँ । एनगोजी साह्रै रमाइलो लाग्यो । नेपालकै पहाड घुमेजस्तो । मलाई त मेरै पुख्र्यौली ठाउँ इलाम जस्तो लाग्यो ।’ मैले भनेँ ।
उनीहरू थुप्रै प्रश्न सोधिरहेका थिए । नेपालबाट बुरून्डी पुग्ने पहिलो पत्रकार थिएँ म । त्यसैले उनीहरू नेपालबारे धेरै कुरा जान्न इच्छुक देखिन्थे । पत्रकारिता, कृषि, विज्ञान, कानुन, अर्थतन्त्र, राजनीतिशास्त्र, चिकित्साशास्त्र लगायत धेरै विषय पढाइने बुजुम्बुरा विश्वविद्यालय आपैmँमा ज्ञानको खानी थियो तर पनि चीन र भारतबीच अवस्थित नेपालबारे उनीहरू धेरै अनभिज्ञ थिए ।
मार्थाले ठट्टा गरी– ‘विश्वकै सर्वोच्च हिमशिखर नेपालमा छ भनेर मैले स्कुलमा पढेकी थिएँ । तपाईंसँग हात मिलाउँदा त्यस्तो चिसो लागेन, किन ?’ मैले हाँसेर जवाफ दिएँ– ‘काठमाडौँबाट एघार घन्टासम्म विमानमा उडेर आउँदा हिउँ पग्लिइसक्यो… ।’
सबै गलल्ल हाँसे । फ्रेञ्च साहित्य पढाउने मारियाले प्रश्न गरिन्– ‘पहिले नेपाल ब्रिटेनको उपनिवेश थियो होइन ?’
‘एकदमै गलत । नेपाल कहिले पनि पराधीन रहेन । कहिल्यै कसैको दासत्व नभोगेका यस्ता देशहरू सायद थोरै होलान् ।’ मैले उत्तर दिएँ ।
मारिया, मार्था, अगस्टिन, क्यारोलिन र जोसेफहरू सबै आश्चर्यचकित भए । नेपाल र नेपालीबारे उनीहरूमा रहेको अज्ञानता र भ्रम मेटाउन मैले अन्धकारमा एउटा सानो टुकी बाल्न खोजेको थिएँ ।
‘मैले रूवान्डा, कंगो र बुरून्डीमा पैmलिएको जातीय हिंसाबारे पढेको छु । मानवताको यस्तो अपमान अब दोहोरिनु हुँदैन ।’ मैले भनेँ ।
‘सही भन्नुभयो तपाईंले ।’ प्राध्यापक जोसेफ बोले ।
सन् १९७२ देखि १९९४ सम्म रूवान्डा लगायतका क्षेत्रमा पैmलिएको जातीय विद्वेषको कथा सुनाए जोसेफले ।
‘मैले कतिपय गाउँहरू जलेको देखेँ । धेरै दुःख लाग्यो मलाई । लाखौँ निर्दोष मान्छेको हत्या गरेर युद्ध जित्न खोज्नेहरू कति निर्दयी होलान्… ?’ मैले बोल्दाबोल्दै जोसेफका आँखा रसाए । उनले गला अवरूद्ध पार्दै आपैmँले भोगेको पीडा सुनाए । ……. कलेज बिदा थियो । म साथीहरूसँग घरछेउको चर्चपछाडि खुला चउरमा क्रिकेट खेल्दै थिएँ । पचास–साठी जना मानिस बन्दुक लिएर कराउँदै आए र मेरा बुबाआमालाई गोली हानेर मारे । मैले चर्चभित्र लुकेर ज्यान बचाएँ । हाम्रो घर जलाइयो । हुटु र टुट्सीबीचको यो घातप्रतिघातले देश नै जल्यो । हामी कति असभ्य रहेछौं भनेर विश्वले चाल पायो… ।’ उनी बोल्दाबोल्दै सँुक्कसुँक्क रून थाले । मार्था, क्यारोलिन र अगस्टिनले जोसेफलाई सान्त्वना दिँदै भन्यो– ‘भो अब पुराना कुरा सम्झेर नरूनुहोस् । त्यस्तो घटना सायद अब दोहोरिने छैन । ईश्वरले हाम्रो रक्षा गर्छन् ।’
भोलिपल्ट मार्थाले मलाई तान्गानिका ताल घुमाउन लगिन् । ६७३ किलोमिटर लामो तालको सौन्दर्यले म मन्त्रमुग्ध भएँ । बुरून्डी, कंगो, तान्जानिया र जाम्बियालाई स्पर्श गर्दै पैmलिएको तालको वर्णन गर्दै मार्थाले भनिन्– ‘साइबेरियाको बैकाल तालपछिको यो दोस्रो गहिरो ताल हो र विश्वकै सबैभन्दा लामो ।’
मैले सोधें– ‘तिमी पौडेर पारि पुग्न सक्छ्यौ ?’
‘आबुई, कुन पारि ?’ यो त बहत्तर किलोमिटर चौडा छ ।’ उनले भनिन् ।
पातली, काली र हिस्सी नपरेकी मार्थालाई पहिलोपल्ट भेट्दा उनको व्यक्तित्व अनाकर्षक लाग्थ्यो । केही दिनको संगतपछि उनीप्रति मेरो धारणा बदलिएको छ । अष्टे«लियाबाट अन्तर्राष्ट्रिय मामिलामा पीएचडी गरेकी मार्था विदेश मन्त्रालयमा अधिकृत छिन् ।
तान्गानिका ताल अर्थात् ग्रेट लेकको किनारमा रहेको कफीसपमा हामीले दुई तीन घण्टा बितायौँ । रूजीजी, मालागारासी र कालम्बो नदी मिसिएको ताल हेर्दै मैले भनें– ‘मार्था, अफ्रिकाको सबैभन्दा ठूलो ताल र विश्वको सर्वोच्च शिखर माउन्ट एभरेस्टको भेट हुँदा कस्तो लागेको छ ?’
उसले हाँसेर भनी– ‘असाध्य रमाइलो लागिरहेको छ तर ग्रेट लेकभित्र माउन्ट एभरेस्ट डुबिसकेको छैन… ।’
सुपको कचौरामा ब्रेडको टुक्राभैmँ ‘माउन्ट एभरेस्ट’ डुब्न नसक्ला तर त्यसलाई पगालेर ग्रेट लेकमा डुबाइदियो भने लेकसाइडमा बाढी आउँछ ।’ मेरो जवाफ सुनेपछि उनी सेता चम्किला दाँत देखाएर पुनः हाँसिन् ।
प्रसंग बदल्दै मैले बुरून्डीमा भएको जनमत संग्रहबारे मार्थाको धारणा बुझ्न खोजेँ । उनले गृहयुद्धको पृष्ठभूमि र त्यसपछिका घटनाक्रमहरूबारे सबै कुरा बताइन् । भोलिपल्ट मैले मार्थाकै घरमा दिउँसोको खाना खाएँ ।
‘तपाईं शाकाहारी हुनुहुन्छ भनेर मैले शुद्ध शाकाहारी खाना तयार पारेकी छु ।’ मार्थाकी आमा आलियाले भनिन् ।
मार्थाका बाबु अगस्टिनले बाह्र कक्षामा पढिरहेको छोरा जोनलाई मेरो परिचय दिँदै भनें– ‘उहाँ माउन्ट एभरेस्टको देशबाट आउनुभएको छ ।’ उसले ‘नमस्ते अंकल’ भनेर अभिवादन गर्दा म चकित भएँ ।
‘कसरी सिक्यौ ‘नमस्ते’ भन्न ?’ मेरो प्रश्नको जवाफ दिँदै जोनले लजाएर भन्यो– ‘मार्था दिदीले नेपाली अंकललाई ‘नमस्ते’ भन्नु भनेर पाँच–सातपल्ट सिकाएकी थिइन् ।’
मार्थाले हाँस्दै भनिन्– ‘मेरो भाइ ढाँट्न पनि जान्दैन । उसको गर्लफ्रेन्डले पठाएको प्रेमपत्रसमेत मलाई देखाउँछ ।’
बुजुम्बुरा सहरको आवास क्षेत्रमा पर्ने मार्थाको घरको झ्यालबाट मैले टाढाटाढासम्म हेरेँ । मलाई नेपालमै छु जस्तो लाग्यो । इन्टरनेटमा मार्थाले सगरमाथा, नेपाल, राराताल, फेवाताल सबै देखाइन् उनकी आमा आलियालाई ।
आलियाले भनिन्– ‘तपाईंहरूको देश स्वर्गजस्तो रहेछ । मलाई मार्थाले नर्वे, फिनल्यान्ड र स्वीटजरल्यान्ड घुमाएकी थिई । तर नेपाल त्योभन्दा राम्रो जस्तो छ ।’ आलियाले भनिन् ।
‘नेपालको प्राकृतिक सुन्दरता देख्दा नलोभिने मानिसहरू संसारमा कमै होलान् तर सबैथोक भएर पनि हामी अन्यौल र अव्यवस्थाको भुँवरीमा परेका छौँ’ मैले भनेँ ।
केही क्षणमा मार्थाका आमाबाबु एकजना आफन्तलाई हेर्न अस्पताल गए । जोन पनि आमासँगै गएपछि त्यहाँ मार्था र मबाहेक कोही भएन ।
‘तपाईं अर्को हप्ता नेपाल फर्केपछि मलाई खल्लो लाग्नेछ ।’ मार्थाले मेरा औंलाहरू चुमेर भनी ।
नराम्री, काली र दुब्ली मार्था मलाई किन किन अनायश राम्री लाग्न थाल्यो । उसको विद्वता, क्षमता र मानवताप्रतिको समर्पण देखेर म ऊप्रति आकर्षित हुँदै गएँ ।
‘मार्था, मैले तिमीबाट ठूलो सहयोग पाएको छु । यहाँका धेरै विशिष्ट मान्छेहरूसँग भेट गराइदिएर तिमीले ठूलो गुन लगाएकी छ्यौ । तिमीबाट टाढा हुँदा मलाई पनि नरमाइलो लाग्नेछ । तर के गर्ने, सधैँ एकैसाथ बस्न पनि त पाइँदैन नि, होइन र ?’ मैले भनेँ ।
मार्थाले भनिन्– ‘हिजो हामीले तालको किनारमा खिचेको फोटो कम्प्युटरमा सुरक्षित राखेकी छु । सम्झना आउँदा हेरेर इमेल पठाइरहुँला… ।
‘मान्छेहरू जात र धर्मको नाममा लडाइँ गर्छन् । तेरो मेरो भनेर मारामार गर्छन् । आखिर, संसारका सबै मान्छे परमात्माका सन्तान नै त हुन् नि, होइन र ? अफ्रिकामा बसेर म काली भएँ । नेपालमा बसेर तपाईं गोरो हुनुभयो । किन मानिसहरू मानवतालाइ अपमान गर्छन् ? किन जात, धर्म, रंग र भाषाको विवाद निकालेर रगत बगाउँछन् ? रगत सबैको रातो हुन्छ र चोट लाग्दा सबैले नुनिलो र रंगहीन आँसु बगाउँछन् । कालो मान्छे रूँदा किन कालो आँसु आउँदैन ? गोरो मान्छे रूँदा किन सेतो आँसु बग्दैन ? मान्छेहरू किन पर्खाल लगाएर भेदभाव गर्छन् ?’
मार्था धाराप्रवाह बोलिरही । मलाई लाग्यो– ‘ज्ञान, विवेक, चेतना र संस्कारले मान्छेलाई औसत मान्छेको तहबाट माथि उठाउँछ । प्राध्यापक अगस्टिनकी छोरी भएर मात्र होइन, एउटा सुसंस्कृत परिवारमा जन्मेकीले मैले मार्थामा पूर्णता पाएँ ।
स्थानीय अखबारहरूमा छापिएका आफ्ना लेखहरू देखाउँदै मार्थाले भनिन्– ‘म यी सबै लेखको फोटोकपी तपाईंलाई दिनेछु । कृपया पढिदिनु होला । मैले बुरून्डीको द्वन्द्वमा आधारित एउटा उपन्यास लेखेकी छु, ‘साइलेन्ट क्राइ ।’ नेपाल पुगेर पढिसकेपछि प्रतिक्रिया पाउँ है त … ।’
मार्थाले भनेभैmँ मानवताको अपमान गर्नेहरूको कारण आज पनि करोडौं मानिस रोइरहेका छन् । उनीहरूको आवाज सुनिदिने कोही छैन । मौन चित्कारले निसास्सिएका छन् करोडौं मान्छेहरू ।
साँझमा म बसेकै होटलमा मार्था र मैले आत्मीयता साट्दै खाना खायौँ । अबेरसम्म लामो कुराकानी ग¥यौँ । रेड वाइन पिएर अलिअलि लठ्ठिएका उनका आँखाहरूमा मैले धेरैबेर हेरिरहेँ ।
मार्थाले सोधिन्– ‘तपाईंका धेरै प्रश्नको जवाफ दिइसकेँ । अब मेरो एउटा प्रश्नको तपाईंले उत्तर दिनुपर्छ । दिनु हुन्छ ?
‘कस्तो प्रश्न ?’ मैले सोधेँ ।
म बोल्दिनँ । मेरा आँखाहरूले नै मौनप्रश्न गरिरहेका छन् । उसको प्रत्युत्तरमा मौनप्रश्न प्रतिध्वनित भइरह्यो ।