सडक आन्दोलनले जनता मर्माहत
सम्पादकीय
हिजोआज काठमाडौबासी जनताहरुले राजनीतिक दलका आन्दोलनका कारण अति नै दुख महसुस गर्न थालेका छन । दैनिक रुपमा राजनीतिक दलहरुले गरेको आन्दोलनका कारण थेगी नसक्नु गरी सवारी जाम हुन थालेको छ । जसका कारण आम नागरिकले चाहेको समयमा आफनो गन्तव्यमा पुग्न पाएका छैनन । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो महिनाको ५ गते प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर शितल निवासमा पुरर्याउने बितिक्कै राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेकी थिइन । राष्ट्रपतिले संसद बिघटनका लागि हस्ताक्षर गरेर निर्णय बाहिरिए सँगै सत्तारुढ दल नेकपा अनौपचारिक रुपमा बिभाजित हुन पुगेको छ । साथै प्रधानमन्त्री ओलीइतरको नेकपा भित्रको अर्को समुह आन्दोलनमा उत्रिएको छ ।
प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका बिरुद्ध संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र अर्को प्रतिपक्ष दल जनता समाजबादी पार्टीले पनि आन्दोलन घोषणा गरेर पनि एकसरो सडक आन्दोलन सकिसकेका छन । जसका कारण अहिले मुलुकको राजनीतिक नराम्ररी गिजोलिन पुगेको छ । प्रधानमन्त्री ओलीको कदमलाई लिएर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख अग्नि समपकोटालाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धासमेत दायर भएको र अदालती प्रक्रिया पुरा भएर अहिले संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ । अदालतमा सुनुवाई भइरहेको समयमा अदालतलाई प्रभावित पार्ने किसिमका गतिबिधि र कामहरु सरकार र अन्य आन्दोलनरत राजनीतिक दलहरुबाट दिनानु दिन भइरहेको छ । त्यति होइन राजनीतिक दलहरुबाट भएका सडक आन्दोलनबाट सर्वसाधरण नागरिकहरु नराम्ररी प्रभावित बन्न पुगेका छन ।
साँझ बिहान काम गरेर खानुपर्ने सर्वसाधरण नागरिकहरुले अति नै दुख बेहोर्नु परेको छ । राजनीतिक दलबाट हुँदै आएको सडक आन्दोलनले हुने सवारी जामका कारण जनजीवन कस्टकर बन्दै गइरहेको छ । शुक्रवार नेकपाको प्रचण्ड–माधव नेपाल समुहले गरेको सडक प्रदर्शनका कारण दिनभरी जसो काठमाडौंमा सवारी जाम भइरहयो । काममा निस्केकाहरु पनि सजिलो गरी गन्तव्यमा पुग्न सकेनन र पाएनन । यसले गर्दा उनीहरुले कमाउन पाएनन । कमाउन नसक्दा उनीहरुका बालबच्चाहरु भोकभोकै बस्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीका कारण राजनीतिक अस्थिरता भयो भन्नेहरुले पनि सर्वसाधरण नागरिकको मर्का बुझन सकेको देखिएन । सडकमा हजारौ मानिसहरुको उपस्थिति देख्दा राजनीतिक दल, तिनका कार्यकर्ता र ती दलको नेताहरु खुशी र दङग भए होलान । तर आन्दोलनका कारण सवारी जाम भएर काम गर्न नपाएकाहरुको दुख पीडामा मल्हम लगाउने काम कसैबाट हुन नसक्दा उनीहरु मर्माहत हुन पुगेका छन ।