धमाधम चलचित्रहरु छायांकन

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै विभिन्न क्षेत्रमा त्यसले निकै असर पार्यो । मानव स्वास्थ्यदेखि उद्योग, कलकारखान क्षेत्रमा मात्र होइन, मनोरञ्जन क्षेत्रमा पनि यसले निकै असर पारेको छ ।
लकडाउनको आठ महिना पछि धेरै क्षेत्र खुले पनि फिल्म क्षेत्रले भने गति लिन सकेको छैन । फिल्म हल खुले पनि दर्शक कम छन् भने छायांकनका काम भने शुरु हुन थालेको छ ।
सरकारले पौष २६ गतेबाट हल खोल्ने निर्णय गरेपछि चलचित्रको छायांकन पनि सुरु भएको हो । चलचित्रहरु ‘ए मेरो हजुर ४ र आई एम ट्वान्टी वान’को छायांकन भने सरकारले निर्णय नगर्दै कात्तिकको १ गतेबाट सुरु भएका थिए ।
सरकारले चलचित्र छायांकन र प्रदर्शनको अनुमति दिएसँगै आधा दर्जन चलचित्रको छायांकन शुरु भएको छ ।
निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । उनले हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका मुख्य नायक तथा नायिकाको नाम सार्वजनिक गरिएको छैन ।
त्यस्तै चलचित्र ‘हिड्दा हिड्दै’को छायांकन काठमाण्डौमा धमाधम भइरहेको छ । सो चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाहलगायतको मुख्य भूमिका रहेको बताइएको छ ।
चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन पोखरामा सोमबारदेखि सुरु गरिएको छ । सो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको बताइएको छ ।
नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको चलचित्र ‘कौसिद’को छायांकन सिन्धुपाल्चोकको मेलम्ची वरपरको क्षेत्रमा धमाधम भइरहेको बताइएको छ ।


त्यस्तै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन पनि काठमाण्डौका विभिन्न स्थानमा भैरहेको छ ।
इता नायक पुष्प खड्को अभिनय रहेको चलचित्र ‘कृष्ण लीला’को धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको बताइएको छ ।
त्यस्तै चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकिएको बताइएको छ । सो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।
त्यसैगरी कात्तिक १ गतेबाट शुरु भएको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन विभिन्न चरणमा जारी रहेको बताइएको छ । नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको छायांकन हाल पाटनमा भैरहेको बताइएको छ ।
त्यसैगरी चलचित्र ‘परदेशी २’को पनि छायांकन अन्तिम चरणमा पुगेको बताइएको छ । नेपालका दृश्यहरु खिचिसकेको निर्माणपक्षले अमेरिकाको केही दृश्य खिच्ने तयारी गरेको छ ।
चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन सकिएसँगै सार्वजनिक समेत गरिसकेको छ । चलचित्रलाई चैत्र २७ गते रिलिज गर्ने तयारी भइरहेको निर्माताले बताएका छन् ।
त्यस्तै नायक मुकुन भुषाल र नायिका मेनुका प्रधानको मुख्य भूमिका रहने चलचित्र ‘गणपति’को छायांकन पनि सुरु गरिएको छ । बिहिबार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन सुरु गरिएको र यसको अधिकांश दृश्यको छायांकन बन्दिपुरमा नै हुने बताइएको छ । यो चलचित्रले भगवान र मानिसविचको फरक देखाउने बताइएको छ ।