मौकामा चौका हान्दै व्यापारीहरु
काठमाडौँ । राजनीतिक दलहरु आन्दोलनमा लागेका मौका छोपेर व्यापारीहरु भने नाफा कमाउने ध्याउन्नमा लागेका छन । जसका कारण लामो समयको कोरोनाले पिल्सिएका उपभोक्ता महँगीको मारमा परेका छन । दैनिक उपभोग्य सामानमा हिजोआज एक्कासी भारी मात्रमा मूल्य बढ्दा उपभोक्ताहरु भने मर्कामा परेका छन । अहिले खाने तेल, चामल, गेडागेडीलगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको बताइन्छ ।
एक महिना अगाडि भटमासको तेल प्रति केजी १ सय ६५ मुल्य रहेकोमा अहिले २ सय १० पुगेको छ । यसैगरी सनफ्लावरको तेल १ सय ८५ भएकोमा अहिले २ सय २५ पुगेको छ । त्यसैगरी तोरीको तेलमा पनि मूल्य बृद्धि भएको छ । हरियो केराउको मूल्य केही दिन अघि प्रति केजी ९० रहेकोमा एक सय पु¥याएको छ । चामलमा प्रति बोरा एक सयसम्म बढाएको पाइएको छ ।
भारतबाट आयात गर्नुपरेको कारण चामलको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । अर्को कुरा तेलमा भारतमा पनि तेलको मात्रा प्रशस्त नभएको कारण नेपालमा खाने तेल मिलले भारतमा तेल पठाउने गरेकोले नेपालमा तेलको मूल्य बढेको हुनसक्ने आकंलन गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेलको विषयमा नियमित अनुगमन गरिरहेको बताइएको छ । पछिल्लो समय खाने तेलमा विदेशीमै कच्चा प्रदार्थको मूल्यवृद्धि भएको कारण नेपालमा पनि मूल्य बढेको व्यापारीहरु बताउँछन ।
अहिले विभिन्न बहाना बनाएर सामानको मूल्य बनाउने भएपनि मुल्य बृद्धि गर्नुपर्ने कुनै कारण नभइएको बताइन्छ ।
यसैगरी निर्माण सामाग्रीमा पनि विना कारण सामानको मूल्य बढाएको भन्दै निगरानी बढाइएको बिभागले जनाएको छ । विभागले केही हप्ता अगाडि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । पछिल्लो एक महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार घ्यू र तेल १३.०१ प्रतिशत मुल्य बृद्धि भएको देखिएको छ । उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनु परेको बताउँदै आएका छन् । विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुकलगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन खाद्य तेलमा मूल्य बढाउनुको कुनै कारण र तर्क नभएको तर्क गर्छन ।